२०८३ बैशाख २५ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोड मेयर कप टि–१० क्रिकेटः झापा र इलाइट विजयी


बिर्तामोड, बैशाख २५ । झापाको बिर्तामोडमा जारी बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा झापा गाउँपालिका र इलाइट ११ विजयी भएका छन् ।

महेन्द्ररत्न माध्यमिक विद्यालयको खेल मैदानमा जारी दोस्रो दिनको पहिलो खेलमा झापा गाउँपालिकाले धुलाबारी माविलाई १० विकेटले पराजित गरेको आयोजक पूर्वेली गणतान्त्रिक युवा क्लबका अध्यक्ष दिपेन चौधरीले जानकारी दिए ।

टस जितेर बलिङ गरेको झापाले धुलाबारीलाई ३३ रनमै सीमित गरिदिएको थियो । धुलाबारी ९.४ बलमा अलआउट भएको थियो । जवाफमा झापाले २.४ बलमा लक्ष्य पूरा गरेको थियो । खेलको प्लेयर अफ द म्याच झापाका अंकित दास भए ।

त्यस्तै, आज भएको दोस्रो खेलमा इलाइट ११ ले घाग्रा क्रिकेट टिमलाई १४ रनले हराएको हो । इलाइटका लागि सुनिल चौधरीले ४९ को शानदार पारी खेलेका थिए । अजेश भुजेलले १६ रन र पवन महतोले १५ रनको योगदान दिएका थिए ।

१० ओभरको समाप्तिमा इलाइटले ९८ रन बनाएको थियो । ९९ रनको लक्ष्य पछ्याएको घाग्राले ८४ रनमै रोकिएको थियो । घाग्राका लागि आदित्य निरौलाले ४० रनको योगदान दिएका थिए ।

इलाइटका बलरहरुले कसिलो बलिङ गरेका थिए । अजेश भुजेलले इकोनमी स्पेल फ्यालेका थिए । खेलको प्लेयर अफ द म्याच इलाइटका सुनिल चौधरी भए ।

क्लबका अध्यक्ष चौधरीका प्रतियोगितामा जम्मा १६ वटा टिमको सहभागिता रहेको छ । फाइनल खेल बैशाख २८ गते हुने तय गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार युवा व्यवसायी लेलिस ओडारी र दोस्रो पुरस्कार निर्मल भट्टराईले प्रायोजन गरेका छन् ।

खेल संयोजक चन्द्र भट्टराईका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई एक हजार रुपैयाँ प्रदान गरिनेछ ।

फाइनल खेलमा उत्कृष्ट फिल्डर, बलर, विकेटकिपर र ब्याटरलाई जनही २ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । प्लेयर अफ द सिरिजलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको कुल अनुमानित खर्च ४ लाख ३ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताका लागि बिर्तामोड नगरपालिकाले २ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

Adv footer