२०८३ जेठ २ शनिबार
Jhapa Today
Adv top

विद्यार्थी कम भएपछि भद्रपुरका चार विद्यालय गाभिए


बिर्तामोड, जेठ २ । झापाको भद्रपुर नगरपालिकाले सामुदायिक विद्यालय समायोजन गरेको छ । नगरपालिकाले न्यून विद्यार्थी संख्या भएका चारवटा विद्यालयलाई नजिकै रहेको अन्य विद्यालयमा समायोजन गरेको हो ।

त्यस्तै, शिक्षक दरबन्दी पनि मिलान गरेको छ । नगरपालिकाले विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्यविधि–२०८३ अनुसार नगरभित्रका चारवटा विद्यालयलाई समायोजन र २३ शिक्षक (बाल विकाससहित) को दरबन्दी मिलान गरेको हो ।

नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रेम भुजेलका अनुसार भद्रपुर–१० स्थित कृष्ण प्राविलाई भद्रपुर–९ को पशुपतिनाथ आविमा समायोजन गरिएको छ । भद्रपुर–१० कै भगवती प्राविलाई भद्रपुर–७ स्थित वीरेन्द्र माविमा गाभिएको छ ।

भद्रपुर–८ स्थित भानु प्राविलाई पृथ्वी आवि भद्रपुर–८ मा र भद्रपुर–५ को पशुपति प्राविलाई भद्रपुर माविमा गाभिएको शाखाले जनाएको छ । शाखाको निर्णयअनुसार प्राथमिक, निम्न माध्यमिक, माध्यमिक तथा बाल विकासतर्फ गरी कुल २३ दरबन्दी कटौती गर्दै २३ नै दरबन्दी अन्य विद्यालयमा थप गरिएको छ ।

शाखाको निर्णयअनुसार हिमाली मावि भद्रपुर–१, आधारभूत विद्यालय भद्रपुर–१, मेची आवि भद्रपुर–३, जनकल्याण आवि भद्रपुर–४, शारदा आवि भद्रपुर–६, वीरेन्द्र मावि भद्रपुर–७, पृथ्वी आवि भद्रपुर–८, पशुपतिनाथ आवि भद्रपुर–९ र जीवनज्योति आवि भद्रपुर–९ मा दरबन्दी थप गरिएको छ ।

अरनिको मावि भद्रपुर–३, चन्द्रभागुज्योति मावि भद्रपुर–३, भद्रपुर मावि भद्रपुर–५, भानु प्रावि भद्रपुर–८, पुहाँतु जनज्योति मावि भद्रपुर–९, कृष्ण प्रावि भद्रपुर–१० र भगवती प्रावि भद्रपुर–१० लगायत विद्यालयमा दरबन्दी कटौती गरिएको छ ।

बाल विकासतर्फ हिमाली मावि, दिपक प्रावि, सरस्वती मावि, सिचाई प्रावि, सगरमाथा मावि, सिंहदेवी प्रावि, अरनिको मावि, शारदा आवि र भानु प्राविमा दरबन्दी थप गरिएको छ भने पशुपति प्रावि, गौतम बुद्ध प्रावि, भृकुटी प्रावि, पृथ्वी आवि, पशुपतिनाथ आवि, जीवनज्योति आवि, कृष्ण प्रावि र भगवती प्राविमा कटौती गरिएको छ ।

Adv footer