२०८३ जेठ १८ सोमबार
Jhapa Today
Adv top

बिर्तामोड च्यालेन्ज कप जेठ अन्तिम साता हुने


बिर्तामोड, जेठ १८ । झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप हुने भएको छ । प्रतियोगिता जेठ अन्तिम साता हुने आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।

आयोजक बिर्तामोड युनाइटेड फुटबल क्लबका अनुसार डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता जेठ २४ गतेदेखि सुरु हुनेछ । प्रतियोगितामा आठ टिम रहनेछन् ।

जेठ ३१ गते हुने फाइनल खेलको विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक अनिश सुवेदीले जानकारी दिए । उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ, मेडल र ट्रफी पाउनेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद तीन हजार र ट्रफी पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी प्राप्त गर्ने क्लबका सचिव सन्तोष राई जानकारी दिए ।

विधागतर्फ उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र उदीयमान खेलाडीलाई नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगितामा मोरङका दुई क्लब उर्लाबारी फुटबल क्लब र बेलबारी फुटबल क्लब सहभागी हुनेछन् । त्यस्तै, झापाका चन्द्रगढी एफसी, शनिश्चरे एफसी, न्यु स्टार क्लब बिर्तामोड, बगान युथ क्लब कचनकवल, कनकाई स्पोर्टिङ क्लब र आयोजकको टिम रहनेछन् ।

Adv footer