
बिर्तामोड, जेठ १९ । मौसम पूर्वानुमान अनुसार तराईका धेरैजसो सहरहरूमा अत्यधिक गर्मी छ भने पहाडी र हिमाली भेगका सहरहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

विशेषगरी तराईका सहरहरूमा आज निकै गर्मी महसुस भइरहेको छ । पूर्वानुमान अनुसार झापाको बिर्तामोड, दमक, मोरङको विराटनगर र जनकपुरमा आज दिउँसो ‘तातो दिन’ रहनेछ । यी सहरहरूमध्ये विराटनगर, जनकपुर र भैरहवाको अधिकतम तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

त्यसैगरी, बिर्तामोड र सिमराको अधिकतम तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियस रहनेछ । भैरहवा, घोराही र धरानमा दिउँसो आंशिक बादल लागे पनि रातिको समयमा भने आकाश मुख्यतया सफा रहनेछ र यी स्थानमा वर्षाको कुनै सम्भावना छैन ।

संघीय राजधानी काठमाडौँ उपत्यकासहित देशका प्रमुख पहाडी सहरहरूमा भने वर्षाको सम्भावना रहेको छ । काठमाडौँमा दिउँसो ४० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङका साथ मध्यम वर्षा हुने अनुमान छ ।

यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहनेछ । रातिको समयमा भने काठमाडौँमा आंशिक बादल मात्र लाग्नेछ र वर्षाको सम्भावना छैन ।

आज सबैभन्दा धेरै पानी पर्ने सम्भावना पोखरामा देखिएको छ । पोखरामा दिउँसो ६० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङका साथ मध्यम वर्षा हुने र राति पनि ४० प्रतिशत सम्भावनासहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।
धनकुटा, जिरी र ताप्लेजुङमा पनि दिउँसो ४० प्रतिशतदेखि ३० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङका साथ मध्यम वर्षा हुने पूर्वानुमान छ । यस्तै, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, जुम्ला र जोमसोममा भने दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ ।






