
बिर्तामोड, जेठ १९ । झापाको दमकमा तीन दिनअघि मृत भेटिएकी रमा तिवारीको हत्यामा संलग्न एकजना पक्राउ परेको प्रहरीले जनाएको छ । रमाको शव रतुवा खोलमा बोरामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका व्यक्ति रमाका प्रेमी हुन् । दमक ठेगाना भएका रमाका ब्वाइफ्रेन्ड हिजो पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेका युवकको पहिचान सार्वजनिक गरिसकेको छैन ।

नियोजित ढंगले हत्या गरेपछि बोरामा हालेर रमाको शव रतुवा पुलमाथिबाट फालिएको प्रहरीले जनाएको छ । रमा केटासाथीसँग भेट्न आमासँग अनुमति मागेर घरबाहिर निस्किएकी थिइन् ।

आमा मुना तिवारीका अनुसार जेठ १३ गते राति एकाएक रमाको मोबाइलमा उनका केटा साथीले फोन गरेर भेट्न बोलाएका थिए । रमा र ती केटा साथीबीच नजिकको साथीको सम्बन्ध थियो ।

गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डकै रुपमा उनीहरुबीचको सम्बन्धलाई तिवारी परिवारले लिएका थिए । उनीहरुबीच भेटघाट र कुराकानी हुन नपाएको लामै समय बितिसकेको थियो ।

केटालाई उनको परिवारले लागुऔषधको कुलतबाट मुक्त गराउन एक सुधार केन्द्रमा राखिदिएका थिए । १३ जेठको साँझमा नै केटा साथी सुधार गृहमा तोकिएको कोर्स पूरा गरेर बाहिर निस्किएका थिए ।
उनले बाहिर निस्किनसाथ रमासँग सम्पर्क गरेर भेट्न बोलाएको मृतक रमाकी आमा मुना तिवारीले सार्वजनिक गरेकी छिन् । घरबाट निस्किएको पाँच दिनपछि रमाकी आमाले छोरीको शव देखेपछि पहिचान गरेकी हुन् ।






