२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालनमा


बिर्तामोड । नेपालमै पहिलोपटक नयाँ प्रविधि र अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ ।
चार अर्बको लगानीमा ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल नयाँ वर्ष २०२० देखि सञ्चालनमा ल्याइएको हो । पूर्वाञ्चल क्षेत्रमा क्यान्सरको उपचार हुने पहिलो यो अस्पताल बिएन्डसी अस्पताल परिसरभित्रै सञ्चालनमा ल्याइएको हो ।
अस्पतालले सेवा सुरु गरेको दिन पहिलो एकजना सेवाग्राहीलाई निःशुल्क रेडियसन दिएको थियो । सामाजिक उत्तरदायित्वलाई बहन गर्दै अस्पतालले सञ्चालनको पहिलो दिन एकजना बिरामीको सम्पूर्ण खर्च अस्पतालले आफैँ ब्यहोरेको थियो । ठुलो आन्द्राको क्यान्सर भएका २९ वर्षीय पदम मिश्रलाई निःशुल्क रेडियसन थेरापी दिएर अस्पतालमा उपचार सेवा शुभारम्भ गरिएको हो ।
‘मुस्कुराउँछ नयाँ जीवन’ भन्ने नाराका साथ सञ्चालनमा ल्याइएको पूर्वाञ्चल क्यान्सर अस्पताल दक्षिण पूर्वी एसियाकै नमुना भएको दाबी गरिएको छ । बिर्तामोडमा सञ्चालनमा रहेको प्रस्तावित बिएन्डसी मेडिकल कलेज तथा शिक्षण अस्पतालको व्यवस्थापनले नै क्यान्सर अस्पताल सुरु गरेको हो ।


सुदूरपूर्वका क्यान्सरका बिरामीलाई उपचार गर्न काठमाडौँ, चितवन वा भारतको सिलिगुडी पुग्नुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ । सञ्चालनमा आएको अस्पतालमा क्यान्सरका बिरामीलाई एक मिनेटमा रेडिएसन दिन सक्ने ‘ट्रयू बिम लिनियर एक्सेलेरेटर’ मेसिन पहिलोपटक नेपाल भित्र्याइएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिए ।
यसअघि निजी क्षेत्रबाट दुईवटा क्यान्सर अस्पताल राजधानीमा सुरु गरिए पनि पूर्णरुपमा क्यान्सर उपचारको सुविधा विस्तार गर्न सकेका थिएनन् । पूर्वाञ्चल क्यान्सर अस्पतालले भने आवश्यक सबै उपकरणको व्यवस्था गर्दै निदान र उपचार सेवाको सुरुवात गरेको हो । योसँगै पूर्वाञ्चल क्यान्सर अस्पताल आप्mनै पेट सिटी स्क्यान मेसिन भएको पहिलो क्यान्सर अस्पताल बनेको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले पेट सिटी स्क्यान नेपालमै पहिलो भएको बताए । उनका अनुसार यसका लागि दिल्ली वा सिंगापुर जानुपर्ने बाध्यता हटेको छ । त्यस्तै, अस्पतालमा महिलाको स्तन क्यान्सर पत्ता लगाउन अत्याधुनिक प्रविधिसहितको डिजिटल थ्रिडी म्यामोग्रामसमेत ल्याइएको छ । अस्पतालमा शल्याक्रियाका लागि पाँचवटा मोडुलर शल्यक्रिया कक्ष रहेको अस्पतालले जनाएको छ । अस्पतालको सेवा सुरु हुनुअघि नै ४० जना बढी बिरामी आइसकेको मेडिकल डाइरेक्टर यादवले बताए । अन्य अस्पतालमा उपचार गराएका र भारतको विभिन्न ठाउँका बिरामी पनि आइरहेको उनको भनाइ छ ।
आफैँ क्यान्सरबाट पीडित प्रसाईंले पूर्वका जनतालाई उपचारका लागि अन्यत्र धाइरहन नपरोस् भनेर अस्पताल बनाएको बताए । आफूलाई क्यान्सर भएपछि भारतमा उपचार गराउन जाँदा भोगेको समस्या सम्झेर सम्पूर्ण उपकरणसहितको सुविधासम्पन्न क्यान्सर अस्पताल खोल्ने सपना देखेको उनले बताए । लामो समय भारतको मेदान्ता अस्पतालमा काम गरेका मेडिकल डाइरेक्टर डा. वीरेन्द्रकुमार यादवले प्रत्येक तीन जनामध्ये एकजना नेपाली क्यान्सरको बिरामी भएको अनुभव सुनाए ।
अस्पतालमा पेट सिटीका अलावा ट्रुबिम लिनियर एसिलेटर, गामा क्यामेरा, फोरडी सिटी सिमुलेटर, थ्रिडी मेमोग्राम, ब्रेन ल्याब न्यूरो न्याभिगेसन, क्याथ ल्याब, डेक्सा स्क्यान लगायत अत्याधुनिक उपकरणहरुमार्फत निदान र उपचार सुरु गरेको क्यान्सर रोग विशेषज्ञसमेत रहेका डा. यादवले जानकारी दिए ।
हाडजोर्नी तथा भास्कुलर शल्य चिकित्सक डा. निराजनप्रसाद पराजुलीले क्यान्सरका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको बताए । वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गाइने अंकोलोजिस्ट प्राडा. गेहनाथ बरालले अब क्यान्सरको पूरै उपचार गर्न जनशक्ति, उपकरणयुक्त भएको बताए ।
पूर्वाञ्चल क्यान्सर हस्पिटलको नौ तला भवन निर्माणाधीन अवस्थामा छ । भवनको मुनिका चार तला हाल पूरै निर्माण भइसकेको हुँदा त्यहीँ क्यान्सर उपचार सेवा सुरु गरिएको हो । भवनको अन्डरग्राउन्ड तलामा व्यवस्थित बंकर बनाएर रेडिएसन थेरापी दिने मेसिन जडान गरिएको छ ।
नेपालबाट उपचारका लागि भारत जाने ७० प्रतिशतभन्दा बढी बिरामी रोकिने बताइएको छ । संयुक्त रुपमा दियो प्रज्वलन गर्दै कार्यकारी निर्देशक प्रसाईं र सञ्चालक समितिकी अध्यक्ष इन्दिरा गिरीले अस्पतालको उद्घाटन गरका थिए । पाँच वर्षअघि २०७१ फागुन १८ मा बिएन्डसी टिचिङ हस्पिटलको स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer