२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अञ्चल अस्पतालका शौचालय दुर्गन्धित


भद्रपुर । अस्पताल प्रशासन र विकास समितिले ध्यान नदिँदा मेची अञ्चल अस्पताल अत्यन्त दुर्गन्धित पाइएको छ ।

मंगलबार बिहान जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले गरेको अनुगमनमा अस्पतालका शौचालय तथा भित्री भाग अत्यन्त फोहोर भेटिएको थियो । पूर्ण सरसफाइ अभियानअन्तर्गत गरिएको अनुगमनमा अस्पतालका सबै शौचलाय दुर्गन्धित भेटिएको हो । अस्पताल प्रशासनले सरसफाइ गर्ने कर्मचारीको निगरानी नगर्दा बिरामी तथा बिरामी कुरुवा दुर्गन्धित शौचालयमा दिसापिसाब गर्न बाध्य छन् ।

अभियानकर्मीले अस्पतालका शौचालय सफा गरिरहँदा शौचालयमा सफा गर्ने सामग्रीसमेत नराखेको पाइएको थियो । शौचालयवरिपरि रहेको फोहोरको डंगुरले बिरामी राख्ने शैय्यामा समेत प्रभाव पारेको छ । अस्पताल प्रशासनले वार्षिक करिब २४ लाख रुपैयाँमा अस्पताल सरसफाइका लागि ठेक्का दिएको छ । तर, ठेकेदार कम्पनीले सामान्य कुचो लगाउने र भुइँ पुछ्नेबाहेक अन्य सरसफाइ नगरेको अनसगमनका क्रममा पाइएको थियो ।

अस्पतालका शौचालयका सेफ्टिक ट्यांकी फुटेर दिसाको लेदो बाहिर यत्रतत्र बाहिर रहेको छ । पाइपसमेत फुटेको अवस्थामा पाइएको थियो । दिसाको दुर्गन्ध अस्पताल परिसरमा फैलिए पनि प्रशासन र विकास समितिले कुनै वास्तै नगरको पत्रकार माधव विद्रोहीले बताए । बिरामी र कुरुवालाई दिइने खानासमेत फोहोरकै बीचमा वितरण गर्ने गरिएको छ ।

यसैबीच, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. पीताम्बर ठाकुरले अस्पतालका भवन जीर्ण भएको र शौचालयका ढलसमेत मर्मत गर्नुपर्ने भएकाले यस्तो अवस्था रहेको स्वीकार गरे । अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले धेरैपटक अवस्था सुधार्न निर्देशन दिए पनि परिवर्तन नआएको बताए । शौचालय र अन्य क्षेत्रको फोहोर व्यवस्थापनका लागि आफूले कदम चाल्ने पोर्तेलले प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer