
बिर्तामोड, जेठ ४ । प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेको चिनिया स्याउ बरामद गरेको छ । झापाको झापा गाउँपालिका–१ बेलाइतिबारीबाट स्याउ बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक घरबाट प्रहरीले अवैध रूपमा लुकाइछिपाई राखिएको ठलो परिमाणको स्याउ बरामद गरेको हो ।

हिजो दिउँसो भारततर्फ लैजानका लागि स्याउ भण्डारण गरिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी टाघनडुब्बाबाट खटिएको टोली र नेपाल प्रहरी इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको संयुक्त टोलीले बारुद्दिन शेखको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा बिल बिजक नभएको ५४ कार्टुन अर्थात १ हजार ८० केजी स्याउ बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद स्याउको अनुमानित मूल्य ३ लाख २४ हजार रुपैयाँ रहेको छ ।






