बिर्तामोड, जेठ ३ । झापाको अर्जुनधारामा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहीझोडास्थित दुर्गापुर–खुदुनावारी सडक खण्डमा दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे ४ प ७१९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने ३५ वर्षीय मनोज कुमाललाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकोमा थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो ।

घाइते कुमालको उपचारकै क्रममा आज बेलुका ७ः२५ बजे नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







