२०७८ बैशाख ८ बुधबार
Jhapa Today
Adv top

सुखानी काण्ड र जेलमा यसरी बाँचेका थिए प्रधानमन्त्री ओली


बिर्तामोड । केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएको फागुन ३ गते दुई वर्ष पूरा भएको छ । साढे चार दशकअघि फागुन २१ गते झापा आन्दोलनका पाँचजना योद्धालाई तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । नेपाली इतिहासमा सुखानी काण्डका नामले अंकित त्यही घटनाको जगमा प्रधानमन्त्री ओलीको सत्तारोहण यात्रा तय भएको हो ।

सुखानी काण्ड भएको बेला ओली झापाको सचिवबाट केही दिनअघि मात्रै निवर्तमान भएर सिपी मैनाली सचिव भएका थिए । झापा कमिटीका पहिलो सचिव आरके मैनालीले ‘नलेखिएको इतिहास’ पुस्तकमा उल्लेख गरेअनुसार सुखानी घटनामा पर्नबाट ओली संयोगले जोगिएका थिए ।
उक्त पुस्तकको सुखानीका ती सहिद खण्डको रामनाथ दाहालको सन्दर्भमा मैनालीले लेखेको छन्, ‘उन्नत सोचका धनी रामनाथ चारपाने गाविसको प्रधानपञ्चमा उठेर थोरै मत अन्तरले पराजित भएका थिए, २०२४ सालमा । त्यही भएर होला, उनी क्रान्तिकारी हुँदाहुँदै पनि खुला राजनीतिमा बढी विश्वास गर्थे ।

हामी भूमिगत भइसकेका थियौँ । तर, रामनाथ खुलै थिए । २०२९ साल मंसिर २९ गते मैले रामनाथलाई चिठी पठाए, तुरून्त भूमिगत हुनुहोस् । त्यसपछि बल्ल रामनाथ र केपीले सँगै घर छोडे । घर छाडेको केही दिनपछि परिवारको हालचाल बुझ्न एक दिन अपराह्नतिर रामनाथ र केपी दुवैजना घरनजिक निक्लिएछन् । परैबाट उनीहरूले रामनाथको घरमा छ्याप्छ्याप्ती प्रहरी देखेछन् । घरमा प्रहरी किन आएका रहेछन् । म बुझेर आउँछु । तिमी यहा“बाट उता जा“दै गर, केपीलाई जोगाएर आफू भने घरतिर लागेछन् ।

त्यसरी ओलीलाई जोगाएका रामनाथस“ग ओलीको पुनः भेट भएन । सुखानी काण्डपछि ओली र मोहनचन्द्र अधिकारी भागेर भारतको कानपुर पुगे र नेपाल फर्किदा रौतहटबाट गिरफ्तारीमा परी १४ वर्ष जेल जीवन भोगे । जेलमा समेत ओलीको जीवन बालबाल बचेको थियो । फागुन २१ को सन्दर्भमा उपयोगी हुने ठानेर पत्रकारद्वय माधव बस्नेत र मनबहादुर बस्नेतद्वारा सम्पादित झापा आन्दोलनका योद्धा तथा वामपन्थी नेता राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक ‘नलेखिएको इतिहास’ पुस्तकको एक अंशः

केपीका कहानी
केन्द्रीय कारागारको गोलघरमा केपी ओली अल्सर र क्षयरोगले लामो समयदेखि थलिएका थिए । उनको शारीरिक अवस्था अत्यन्त कमजोर बनिसकेको थियो । अल्सरका कारण रगत नै बान्ता गर्थे । त्यस्तो बिरामीका लागि हामीसँग पौष्टिक आहारका नाममा उसिनेको चामल र गान्टे मुलाको झोलबाहेक केही थिएन । त्यसमाथि केपी साह्रै स्वादे मान्छे । उनी जे पाक्छ त्यही नखाने ।

फर्माइसी गरेर आफ्नै स्वादमा बाँच्न खोज्थे । जेलका कठिन दिनहरूमा समेत उनलाई थोरै किन नहोस्, स्वादिलो तरकारी चाहिन्थ्यो । त्यो नहुँदा गाँसै अड्केला जस्तो गर्थे । जेलमा कहाँबाट यस्ता मिठा चिज पाइनु ? क्षयरोग र अल्सरले सिकिस्त भए पनि खाना खान बस्दा कहिले खुर्सानी माग्थे, कहिले घ्यू लेउ भनेर हैरान पार्थे । सिद्धान्तसँग खाना खान सकिँदैन, स्वादसँग मात्र खान सकिन्छ भन्ने तर्क गर्थे ।

केपी कतिसम्म सोखिन थिए भने हामी बिँडी भए पनि रमाएर पिउँथ्यौँ । तर उनी बिँडी देख्नासाथै मुन्टो बटार्थे । चुरोट पाए मात्रै पिउँथे । आफ्नो पारिवारिक र आर्थिक परिवेशविपरीत थियो, उनको जीवनशैली । लाग्थ्यो, केपी जन्मजातै राजसी छाँटका व्यक्ति हुन् । खाना खानुअघि चुरोटको कस मात्रै पाए पनि उनी दुई–तीन गाँस बढी खान्थे । केपीको यही सोखलाई पूरा गर्न हामीले मेसबाट दिनको दुई खिली चुरोट ल्याइदिने व्यवस्था गराएका थियौँ । त्यति बेला गैंडा नामक चुरोट चल्तीमा थियो ।

उनी त्यो चुरोट बिहानको खानाअघि र बेलुकाको खानापछि मज्जाले पिउँथे । म अहिले पनि सम्झन्छु, केपीलाई जेलमा अलिकति खुसी बनाउनुपर्यो भने एक खिल्ली चुरोट दिनुपथ्र्याे । अनि मात्रै खिसिक्क हाँस्थे । नत्र सधैँ पानी पर्न लागेको बादलजस्तै धुम्म अनुहार बनाएर बस्थे । उनलाई बिमारले उठ्नै नसक्ने हालतमा पुर्यायो । रोगले थलिएका केपीले खाना नखाएपछि जीउमा हड्डी र करङ मात्रै देखिन थाल्यो । स्थिति दिनानुदिन खराब बनेर उठ्नसमेत अरुको सहारा चाहिने भयो । त्यसपछि मैले बिरामी स्याहार्न मेरो ढोका खोली पाऊँ भनेर जेलरलाई दरखास्त हालेँ ।

धन्न जेलरले ढोका खोलिदियो । यसपछि मैले सिकिस्त भइसकेका केपीलाई स्याहारेँ । मैले केपीको शरीरमा नछोएको कुनै अंग छैन । दिसा गर्न जाँदा उनी आफ्ना कपडासमेत खोल्न नसक्ने अवस्थामा पुगेका थिए । मैले उनको अन्डरपाइन्ट खोलिदिनेदेखि दिसा धोइदिनेसम्म गरेँ । उनी दिसा आपैmँ धुन्छु त भन्थे तर हात कामेर मलद्वारामा पुर्याउनै नसक्ने भइसकेका थिए । मैले उनलाई नुहाइदिनेदेखि शरीरमा तेल घस्नेसम्म गरि दिएँ ।

एकपटक हप्ता दिनसम्म लगातार बाडुली लागेपछि केपीको मुखबाट ह्वालह्वाली रगत आयो । केन्द्रीय कारागार अस्पतालका डा. पुष्कल भारतीले तुरून्तै औषधि दिएर निको पारिदिए । जेलमा छँदा मलाई घरबाट महिनामा दुईतीन सय रूपैयाँ आउँथ्यो । पैसा आउन कहिले काहीँ तीन महिना पनि लाग्थ्यो । नारद वाग्ले र नरेश खरेलको घरबाट पनि फाट्टफुट्ट केही रूपैयाँ आइरहन्थ्यो, वर्षमा दुईतीनपटक । हामी तीनजनाबाहेक अन्य कसैकोबाट एक सुको आउँदैनथ्यो । यही रकम जम्मा पारेर केपीलाई कुखुराको एउटा अन्डा दैनिक ख्वाउन थाल्यौँ । यसपछि उनी क्रमशः तंग्रिन थाले ।

जेलभित्र प्रेम उप्रेती, दधिराम उप्रेती, छविलाल राजवंशी, भेटला राजवंशीलाई पनि क्षयरोगले सताएको थियो । उनीहरू ग्रस्त भएको समयमा मलाई लागेको क्षयरोग भने बिसेक भइसकेको थियो ।

वास्तवमा केन्द्रीय कारागारका डा. पुष्कल भारतीले केपीको ज्यान बचाइदिएका हुन् । केपीको मात्र किन, डा. भारतीले राखेको सदाशयताले मलगायत धेरैको ज्यान जोगिएको थियो । उनको ससुराली झापाका चिया उद्योगी गिरी बन्धुहरू रहेछन् । झापालीसँग नाता जोडिएकाले उनी हामीप्रति उदार बनेका थिए वा उनमा मानवीय भावना उर्लिएको हो ? हुन त डा. भारती अन्य कैदीहरूलाई समेत एकदमै ध्यान दिएर उपचार गर्थे ।

पछि म स्वास्थ्यमन्त्री भएको बेला डा. भारती मन्त्रालयमै कार्यरत रहेछन् । त्यसबेला एउटा आयोजनाको प्रमुख बनाइदिएको थिएँ । दुई अर्ब रूपैयाँको यो आयोजनाले गाउँगाउँमा प्राथमिक स्वास्थ्य केन्द्र भवन बनाउने लक्ष्य राखेको थियो । म मन्त्री हुँदा आयोजना सञ्चालन गर्ने समिति नै बन्न सकेको थिएन । अघिल्ला मन्त्री र कर्मचारीबीच कसको मान्छे उक्त समितिको प्रमुख बनाउने भन्ने झगडाले चार वर्षदेखि तानातान भएर समिति नबनेको रहेछ ।
मैले केपी, मलगायतलाई जेलमा अहोरात्र सहयोग गरेका व्यक्तिलाई नै परियोजनाको प्रमुख बनाउनु उपयुक्त ठानेँ । उनी वामपन्थी होइनन् । डाक्टर भए पनि कुशल प्रशासक रहेछन् । उनले कुशल काम गरेर देखाइदिए ।

भारतीलाई परियोजना प्रमुख बनाउँदा पाँच वर्षे योजनाको समयावधि एक वर्ष मात्रै बाँकी थियो । एक वर्षमा त्यति ठुलो आयोजनाको काम फत्ते गर्नु चानचुने कुरा थिएन । तर, नियुक्ति भएको नौ महिनामा डा. भारतीले देशभरका प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माणका सबै प्रक्रियाहरू पूरा गरिदिए । योजना रनिङफेजमा पुग्यो । दाता विश्व बैंकले योजनाको अवधि थप्यो ।
चार वर्षमा हुन नसकेको काम नौ महिनामै गरेको देखेर डा. भारतीको कार्यशैली, क्षमता र इमानदारीप्रति विश्व बैंकका प्रतिनिधिहरूसमेत चकित बनेका थिए । जेलमा केपी र मेरो ज्यान बचाइदिने डाक्टर भारतीले लाखौँ नेपालीको स्वास्थ्य जाँच गर्ने भवन पनि बनाइदिए । यता भारतीकै मेहनतले बाँच्न सफल केपीले भने प्रधानमन्त्री भएर विकास र समृद्धिको सुन्दर सपना देखाइदिए ।

(पत्रकारद्वय माधव बस्नेत र मनबहादुर बस्नेतद्वारा सम्पादित राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक ‘नलेखिएको इतिहास’ पुस्तकबाट उद्धृत । फागुन २१ को सन्दर्भमा पाठकलाई पस्किएका हौँ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*