२०८३ जेठ ११ सोमबार
Jhapa Today
Adv top

आजको मौसमः पूर्वमा बादल, पश्चिममा तातो हावा


बिर्तामोड, जेठ ११ । हाल नेपालको मौसममा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ । यसकै असरका कारण देशका विभिन्न हिस्सामा मौसमको कडा रूप देखिने सम्भावना बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा अहिले साधारणतया बादल लागेको छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र पनि बादलले ढाकिएका छन् ।

मधेस प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा भने आंशिक बादल लागेको छ भने बाँकी तराई भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

हाल कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ भने बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ ।

सोमबारको मौसमलाई हेर्दा कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने देखिन्छ । मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मौसम खराब हुन सक्छ । त्यस्तै, मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

यस विपरीत पश्चिम नेपालका भूभागमा भने गर्मीले जनजीवन प्रभावित बनाउने देखिएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन हुने तथा तराई भूभागमा अत्यधिक गर्मीका साथ तातो लहर ‘लू’ चल्ने सम्भावना रहेकाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

Adv footer