२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना प्रकोप : ३३८५ को मृत्यु, ९८ हजार संक्रमित


झापा । डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ८५ पुगेको छ । त्यस्तै, शुक्रबार बिहानसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिएको कोभिड १९ बाट ९८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

चीनमा मात्रै ३ हजार ४२ जनाको मृत्यु भएको छ । चीनमा ८० हजार ५ सय ५२ जना संक्रमित भएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार चीनमा ५३ हजारभन्दा बढी निको भएका छन् ।

इरानमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ सय ८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरका अनुसार संक्रमितको संख्या ३ हजार ५ सय १३ पुगेको छ । इरानमा पनि मार्च २० सम्म सबै विद्यालय र विश्वविद्यालय बन्द गरिएका छन् ।

अमेरिकामा कोभिड–१९ ले मृत्यु हुनेको संख्या १२ पुगेको छ, जसमा ११ जना वासिङ्टन राज्यकै छन् । विभिन्न १६ राज्यमा २ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित संख्यामा बृद्धि हुन थालेपछि ह्वाइटहाउसले देशैभर कोभिड–१९ को परीक्षण विस्तार गर्ने घोषणा गरेको छ । संक्रमण नियन्त्रण तथा रोकथाममा सहयोग पुगोस् भनेर यसअघि वासिङ्टन र फ्लोरिडाले पनि आपत्काल घोषणा गरेका थिए ।

त्यस्तै, जापानमा १२, फ्रान्समा ७, स्पेनमा र इराकमा ३–३, हङकङ र अस्ट्रेलियामा २–२ तथा, ताइवान, थाइल्यान्ड, सान मारिनो र फिलिपिन्समा पनि १–१ जनाको मृत्यु भएको छ । कोभिड १९ को संक्रमणबाट स्विजरल्यान्डमा पनि एक जनाको मृत्यु भएको छ । स्विजरल्यान्डका स्वास्थ्य अधिकारीहरुका अनुसार बिहीबार ७४ वर्षीय एक महिलाको भाइरसको संक्रमणबाट मृत्यु भएको हो । ती महिला हालसालै इटाली घुम्न गएको हुँदा त्यतै संक्रमण भएको आशंका गरिएको छ । शुक्रबार बिहानसम्म स्विजरल्यान्डमा १२० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, बेलायतमा पनि बिहीबार एकजना महिलाको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । बेलायती स्वास्थ्य अधिकारीहरुका अनुसार ७० वर्षीय ती महिलालाई बुधबार अस्पताल भर्ना गरिएको थियो । बेलायतमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ११६ पुगेको छ ।
दक्षिण अफ्रिकाले बिहीबार कोभिड–१९ को पहिलो संक्रमित पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार इटाली भ्रमणबाट फर्किएका एक व्यक्तिमा भाइरस संक्रमण पाइएकोहो ।

कोभिड–१९ संक्रमणले युरोपमा सबैभन्दा प्रभावित इटालीले सबै विद्यालय तथा विश्वविद्यालय बन्द गरेको छ । शिक्षामन्त्री लुसिया एज्जोलिनाले बिहीबारबाट कम्तीमा मार्च १५ सम्म सबै विद्यालय र विश्वविद्यालय बन्द रहने जानकारी दिएकी हुन् । कोभिड–१९ संक्रमणका कारण इटालीमा हालसम्म १ सय ४८ जनाको मृत्यु भएको र संक्रमितको संख्या ३ हजार ८ सय ५८ पुगेको नागरिक संरक्षणसम्बन्धी निकायले जनाएको छ । -एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer