२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका २० स्थानमा कोरोना हेल्थ डेस्क


चन्द्रगढी विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’

बिर्तामोड । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न झापाको बिर्तामोड नगरपालिकाका २० स्थानमा हेल्थ डेस्क स्थापना गरिने भएको छ ।

बिर्तामोड क्षेत्रका १७ वटा सानाठुला अस्पताल र बिर्तामोडका तीन मुख्य बस बिसौनी पूर्व बस स्टेन्ड, पश्चिम बस स्टेन्ड र इलाम स्टेन्डमा हेल्थ डेस्क राखिने भएको छ । बिर्तामोडमा आइसोलेसन सेन्टर स्थापना गर्नका लागि प्रदेश सरकारसँग आग्रह गरिने भएको छ ।

बिएन्डसी हस्पिटल र बिर्तासिटी हस्पिटलले हेल्थ डेस्क सञ्चालनमा ल्याइसकेका छन् भने अन्य अस्पतालले पनि आजबाट सुरु गर्ने बताएका छन् । बिर्तामाड नगरपालिकाले शुक्रबार यहाँका सबै अस्पतालहरुसँग छलफल गरी डेस्क स्थापना गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । । बिर्तामोडमा १० वटा निजी अस्पताल, ४ वटा आँखा अस्पताल र ३ वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् ।

नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण हुन नदिन पूर्वसचेतना अपनाउन हेल्थ डेस्क स्थापना गरिएको हो । बिर्तामोड पूर्वको मुख्य व्यापारिक केन्द्र भएकाले उच्च आवागमन हुने हुँदा सतर्कता अपनाउन यस्तो नीति लिइएको नगरप्रमुख शिवकोटीले बताए ।

त्यस्तै, आँखाको उपचारका लागि बिर्तामोडमा आउने भारतीय बिरामीको स्वास्थ्य परीक्षण गरेर मात्र उपचार अघि बढाइने भएको छ । भारतमा कोरोना भाइरसको संक्रमण देखिएकाले त्यस्तो गर्न लागिएको हो । बिर्तामोड नगरपालिकाले साना–ठुला भेला नगर्न, होली पर्व नमनाउन र आवश्यक सचेतना अपनाउन नगरबासीलाई आग्रह समेत गरेको छ ।

यसैबीच, झापाको चन्द्रगढी विमानस्थलमा बिहीबारदेखि कोरोना भाइरस ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । भारतलगायत तेस्रो देशका मानिसको समेत आवत–जावत हुने विमानस्थलमा कारोना भाइरसविरुद्ध सचेतना अपनाउँदै हेल्थ डेस्क स्थापना गरिएको हो ।

भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ बिहीबारदेखि सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडालले जानकारी दिए ।

विमानस्थलको यात्रु बाहिरने र भित्रने स्थानमा डेक्स राखेर इन्फोरेट थर्मामिटर (ज्वरो नाप्ने यन्त्र)बाट आउने जाने यात्रुको ज्वरो नापिने स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले बताए ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ८५ पुगेको छ । त्यस्तै, शुक्रबार बिहानसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिएको कोभिड १९ बाट ९८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

चीनमा मात्रै ३ हजार ४२ जनाको मृत्यु भएको छ । चीनमा ८० हजार ५ सय ५२ जना संक्रमित भएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार चीनमा ५३ हजारभन्दा बढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer