२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट एक लाख १४ हजार १७५ जनाको मृत्यु


संक्रमितको संख्या १८ लाख ५१ हजार नाघ्यो, अमेरिकामा मात्रै ५ लाख ६० हजार संक्रमित

-हिमाल खरेल
बिर्तामोड, बैशाख १ । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर एक लाख १४ हजार १७५ जनाको मृत्यु भइसकेको छ ।
कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वल्र्डओमिटर्स डट इन्फोका अनुसार १८ लाख ५१ हजार ५७८ जना कोरोना संक्रमित पुगेका छन् । संक्रमितमध्ये ५ लाख ३७ हजार ६४ जनाको केस बन्द गरिएको छ । अर्थात, ४ लाख २२ हजार ८८९ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी १ लाख १४ हजार १७५ जनाको निधन भएको हो ।

सफल उपचार र निधन भएकाबाहेक १३ लाख १४ हजार ५१४ जनामध्ये चार प्रतिशत अर्थात ५० हजार ७६४ जनाको अवस्था दयनीय छ । बाँकी १२ लाख ६३ हजार ७५० जनाको उपचार र अवस्था स्थीर छ ।
संसारमा सबैभन्दा बढी मृत्यु हुनेको संख्या अमेरिकामा पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या २२ हजार १०१ जना पुगेको हो । अमेरिकामा ५ लाख ६० हजार २४६ जनाभन्दा बढी मानिसमा संक्रमण देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र एक हजार ५२४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २७ हजार ३६७ जना नयाँ संक्रमित फेला परेका छन् । संसारभर मृत्युको झन्डै एक चौथाइ संक्रमित अमेरिकामा छन् । मृत्युदर अप्रत्यासित रहेको विश्वको महाशक्ति राष्ट्र भनिने अमेरिकामा करिब १३ हजार मानिस अझै गम्भीर अवस्थामा छन् ।

त्यस्तै, अमेरिकापछि धेरैका मृत्यु इटलीमा भएको छ । इटलीमा १९ हजार ८९९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, स्पेनमा १७ हजार २०९, फ्रान्समा १४ हजार ३९३, बेलायतमा १० हजार ६१२, इरानमा ४ हजार ४७४, बेल्जियममा ३ हजार ६००, जर्मनीमा ३ हजार २२, नेदरल्यान्ड्समा २ हजार ७३७, ब्राजिलमा १ हजार २२३, टर्कीमा १ हजार १९८ र स्विटजरल्यान्डमा १ हजार १०६ जनाको मृत्यु भइसकेको छ ।

बेलायत, बेल्जियम लगायत युरोपियन मुलुकमा पछिल्लो केही दिनयता कोरोना संक्रमणको अवस्था भयावह देखिएको छ । सुरूमा ठुलो मानवीय क्षति व्यहोरेको चीनले भने अथक प्रयासपछि संक्रममण नियन्त्रणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको छ ।

चीनमा ३ हजार ३३९ जनाको निधन भएको छ । पछिल्लो २४ घण्टामा चीनमा कसैको पनि मृत्यु भएको छैन भने नयाँ संक्रमित पनि फेला परेनन् । तर, दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म त्यहाँ ३३१ जना संक्रमितको मृत्यु भएको छ । ९ हजार २०५ जना संक्रमित पहिचान भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४३ जनाको मृत्यु भएको छ ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा ५ लाख ६० हजार २४६ जना संक्रमित छन् । त्यसपछि स्पेनमा १ लाख ६६ हजार ८३१, इटलीमा १ लाख ५६ हजार ३६३, फ्रान्समा १ लाख ३९ हजार ५९१, जर्मनीमा १ लाख २७ हजार ८५४, बेलायतमा ८४ हजार २७९, चीनमा ८२ हजार ५२, इरानमा ७१ हजार ६८६ र टर्कीमा ५६ हजार ९५६ जना संक्रमित पुगेका छन् ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ७३६ जनामा देखिएको छ भने ५ हजार ३९६ जनाको निधन भएको छ । नेपालमा संक्रमितको संख्या १२ पुगेको छ भने एकजना निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ४ हजार ४२६ जनालाई कोरोना संक्रमणको परीक्षण गरिएको छ ।
(बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer