
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोड–२ बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई ज्ञापन गरेको छ ।

आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर विद्यार्थीलाई बधाई ज्ञापन गरेको हो । २०८२ को एसइइमा विद्यार्थीहरूले उत्साहजनक नतिजा ल्याएका छन् । विद्यालयले हालसम्मकै उत्कृष्ट नतिजा हासिल गरेको जनाएको छ ।

विद्यालयका अनुसार एसइइमा प्राविधिक धारतर्फ ३६ जना र साधारण धारतर्फ २३ जनासहित ५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये प्राविधिक धारतर्फ ३२ जना र साधारण धारतर्फ २० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो वर्ष विद्यालयको कुल नतिजा ८८ प्रतिशत पुगेको बताइएको छ । यो नतिजा बिर्तामोड नगरपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये तेस्रो उत्कृष्ट नतिजा भएको विद्यालयले जनाएको छ । विद्यालयका चारजना विद्यार्थीले एसइइमा ए प्लस नतिजा ल्याएका छन् ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा शिक्षकहरूले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवनकुमार खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष खड्काले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्दै कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै वास्तविक बधाईको हकदार बन्ने बताए । उनले अझ मेहनतका साथ अध्ययनमा लाग्न विद्यार्थीहरूलाई सुझाव दिएका थिए ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक हेमकुमार उप्रेती, प्राविधिक धारका शिक्षक मोहन ओझा तथा शिक्षक अभिभावक संघका अध्यक्ष ढाँचाराज कडरिया लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक हरि न्यौपाने र सञ्जय अछामीले गरेका थिए ।





