२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

असहायको सहारा बनेका दिवाकरलाल


बिर्तामोड, बैशाख २ । सरकारले लागु गरेको लक डाउनको समयमा झापा अर्जुनधारा ६ का दिवाकरलाल चौधरीको दैनिकी अन्यको भन्दा फरक छ । सुरुवाती एक साता घरमै एकान्तबासमा रहेका ३४ वर्षीय उनी पछिल्लो १४ दिनयता सडकमा हुन्छन् ।

सरकार र निजी क्षेत्रले रोजगार गुमाएका र विपन्न परिवारलाई खाद्यान्न तथा राहत वितरण गर्दैछ । तर, सडकमै बसेर साँझबिहान पेट भर्ने फकिरहरुका निम्ति कसैको ध्यानदृष्टि पुगेन । दिवाकरलालको मन कुँडियो । मनमनै जुक्ति फुराए, ‘सडकलाई संसार सम्झेर बसेका यी बेसहाराका लागि म सहारा बन्छु ।’

चैत १९ को बिहान आफ्नो मोटरसाइकलको लेगगार्डमा दुई झोला भरी खानाका २५ वटा बट्टा र पानीका बोत्तल झुन्ड्याए । घरबाट दुई किलोमिटर दक्षिण बिर्तामोडको मुक्तिचोक आसपास एक फन्को लगाए । गल्लीहरु चहारे । बिर्ताबजार, शनिश्चरे, चारपाने, बुट्टाबारी र बसपार्कको चक्कर लगाए । सडकमै गुजारा चलाउने ‘माग्ने’ हरुका हातमा तातो खाना राखिदिए ।

सुरुका दिनहरुमा उनीहरु बस्ने ठाउँ यकिन गर्न दिवाकरलाललाई कठिन भयो । अहिले उनीहरु बस्ने गल्ली र सडककिनारबारे उनी जानकार भइसकेका छन् । भन्छन्, ‘अब त प्रायः सप्पैलाई एकै ठाउँमा भेट्छु । दुईतीनजना चैँ यताउती सर्नु हुँदो रैछ ।’ सरकारले बनाएको नियममै बसेर उनी ती वास्तविक असहायलाई बिहान एक छाक खाना खुवाएर दुई घण्टामा घर फर्किन्छन् ।

२५ जनाको खानाको प्याकेट बनाउन दिवाकरलाललाई घरका सदस्य सहयोग गर्छन् । अधिकांश बोल्न नसक्ने सडक मानिसहरु आजभोलि उनीसँग आत्मीय बनिसकेका छन् । उनलाई उनीहरुले परैबाट चिन्न थालेका छन् । मोटरसाइकल रोक्नेबित्तिकै छेउमा आउँछन् र तातो खानाको प्याकेटका लागि हात थाप्छन् । उनीहरुको अनुहारको चमक देख्दा दिवाकरलाल दंग छन् ।

उनले एउटा संकल्प गरेका छन्, लक डाउन समाप्त नभइञ्जेल उनीहरुका लागि खानाको जोहो गरिरहने । चैत बैशाखको घामको कुनै पर्वाह नगरी उनी निरन्तर खाना खुवाइरहेका छन् । बैशाख १ नयाँ वर्षको दिन त उनले सबैजनालाई मासुभातकै व्यवस्था गरिदिए । उनको यो स्तुत्य कार्यबाट प्रभावित भएर उनलाई विदेशबाट साथीहरुले आर्थिक सहयोगको इच्छा पनि देखाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer