२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना संक्रमितको संख्या २० लाखनजिक


एक लाख २६ हजारभन्दा बढीको मृत्यु, नेपालमा १२ हजार ९०६ जनाको परीक्षण

-हिमाल खरेल
बिर्तामोड, बैशाख ३ । विश्वभर एक लाख २६ हजार ५३८ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १९ लाख ९६ हजार ९६९ पुगेको छ । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७३ हजार ३२ जनामा देखिएको छ भने ६ हजार ९२० जनाको निधन भएको छ ।

नेपालमा संक्रमितको संख्या १६ पुगेको छ भने एकजना निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म १२ हजार ९०६ जनाको कोरोना संक्रमणको परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म पिसिआर विधिबाट ६ हजार २९९ वटा र र्‍यापिड
टेस्ट किटमार्फत ६ हजार ६०७ वटा परीक्षण गरिएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले पिसिआर विधिबाट पछिल्लो २४ घण्टामा मात्र नयाँ ५८४ वटा परीक्षण गरिएको बताए । तीमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३८७ वटा र काठमाडौँबाहिर १९७ वटा परीक्षण गरिएको हो ।
र्‍यापिड किटबाट भने पछिल्लो २४ घण्टामा १ हजार ३१६ वटा परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार देशभर ५ हजार ७७१ जना क्वारेन्टाइनमा रहँदा ९९ जना आइसोलेसनमा रहेका छन् ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये ६ लाख ४ हजार ८६४ जनाको केस बन्द गरिएको छ । अर्थात, ४ लाख ७८ हजार ३२६ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी १ लाख २६ हजार ५३८ जनाको निधन भएको हो ।

सफल उपचार र निधन भएकाबाहेक १३ लाख ९२ हजार १०५ जनामध्ये चार प्रतिशत अर्थात ५१ हजार ५९५ जनाको अवस्था दयनीय छ । बाँकी १३ लाख ४० हजार ५१० जनाको उपचार र अवस्था स्थीर छ ।
संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या २५ हजार ९८९ जना पुगेको हो । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २ हजार ३४९ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २६ हजार २९४ जना नयाँ संक्रमित फेला परेका छन् । संसारभर मृत्युको झन्डै एक चौथाइ संक्रमित अमेरिकामा छन् । मृत्युदर अप्रत्यासित रहेको विश्वको महाशक्ति राष्ट्र भनिने अमेरिकामा करिब १३ हजार ४७३ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

त्यस्तै, अमेरिकापछि धेरैका मृत्यु इटलीमा भएको छ । इटलीमा २१ हजार ६७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, स्पेनमा १८ हजार २५५, फ्रान्समा १५ हजार ७२९, बेलायतमा १२ हजार १०७, इरानमा ४ हजार ६८३, बेल्जियममा ४ हजार १५७, जर्मनीमा ३ हजार ४९५, नेदरल्यान्ड्समा २ हजार ९४५, ब्राजिलमा १ हजार ५३२, टर्कीमा १ हजार ४०३ र स्विटजरल्यान्डमा १ हजार १७४ जनाको मृत्यु भइसकेको छ ।

बेलायत, बेल्जियम, जर्मनी, नेदरल्यान्ड्स लगायत युरोपियन मुलुकमा पछिल्लो केही दिनयता कोरोना संक्रमणको अवस्था भयावह देखिएको छ । सुरूमा ठुलो मानवीय क्षति व्यहोरेको चीनले भने अथक प्रयासपछि संक्रममण नियन्त्रणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको छ ।

चीनमा ३ हजार ३४१ जनाको निधन भएको छ । पछिल्लो २४ घण्टामा चीनमा मृत्यु भएको छैन भने नयाँ संक्रमित ८९ जना फेला परेका छन् । तर, दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म त्यहाँ ३९३ जना संक्रमितको मृत्यु भएको छ । ११ हजार ४८७ जना संक्रमित पहिचान भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३५ जनाको मृत्यु भएको छ भने एक हजार ३४ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा ६ लाख १३ हजार २३५ जना संक्रमित पुगेका छन् । त्यसपछि स्पेनमा १ लाख ७४ हजार ६०, इटलीमा १ लाख ६२ हजार ४८८, फ्रान्समा १ लाख ४३ हजार ३०३, जर्मनीमा १ लाख ३२ हजार २१०, बेलायतमा ९३ हजार ८७३, चीनमा ८२ हजार २४९, इरानमा ७४ हजार ८७७ र टर्कीमा ६५ हजार १११ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer