२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुने एक लाख ६० हजार नाघ्यो


संक्रमितको संख्या २३ लाख २९ हजारभन्दा बढी


-हिमाल खरेल
बिर्तामोड, बैशाख ७ । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर १ लाख ६० हजार ५७९ जनाको मृत्यु भइसकेको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार २३ लाख २९ हजार ८०६ जना कोरोना संक्रमित पुगेका छन् । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ८० हजार ९४३ जनामा देखिएको छ भने ६ हजार ४४१ जनाको निधन भएको छ ।

संक्रमितमध्ये ७ लाख ५७ हजार ६१ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, त्यसको ७९ प्रतिशत ५ लाख ९६ हजार ४८२ जना उपचारपछि घर फर्किएका छन् । बाँकी २१ प्रतिशतका मृत्यु भएको छ ।

सफल उपचार र निधन भएकाबाहेक १५ लाख ७२ हजार ७४५ जनामध्ये चार प्रतिशत अर्थात ५५ हजार २६५ जनाको अवस्था दयनीय छ । बाँकी १५ लाख १७ हजार ४८० जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ३९ हजार ११ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र १ हजार ८६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २८ हजार ९६२ जना नयाँ संक्रमित फेला परेका छन् । मृत्यु हुनेमध्ये झन्डै एक चौथाइ संक्रमित अमेरिकामा छन् । अमेरिकामा करिब १३ हजार ५५१ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

त्यस्तै, अमेरिकापछि धेरैको मृत्यु इटलीमा भएको छ । इटलीमा २३ हजार २२७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, स्पेनमा २० हजार ६३९, फ्रान्समा १९ हजार ३२३, बेलायतमा १५ हजार ४६४, बेल्जियममा ५ हजार ४५३, इरानमा ५ हजार ३१, जर्मनीमा ४ हजार ४७७, नेदरल्यान्ड्समा ३ हजार ६०१, ब्राजिलमा २ हजार ३६१, टर्कीमा १ हजार ८९०, स्विडेनमा १ हजार ५११ र स्विटजरल्यान्डमा १ हजार ३६८ जनाको मृत्यु भइसकेको छ ।

चीनमा ४ हजार ६३२ जनाको निधन भएको छ । पछिल्लो ७२ घण्टामा चीनमा कोरोनाका कारण मृत्यु भएको छन । त्यहाँ २७ जना नयाँ संक्रमित फेला परेका छन् । दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म त्यहाँ ५२१ जना संक्रमितको मृत्यु भएको छ । १५ हजार ७२२ जना संक्रमित पहिचान भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३५ जनाको मृत्यु भएको छ भने १ हजार ३७० जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा ७ लाख ३८ हजार ६९७ जना संक्रमित पुगेका छन् । त्यसपछि स्पेनमा १ लाख ९४ हजार ४१६, इटलीमा १ लाख ७५ हजार ९२५, फ्रान्समा १ लाख ५१ हजार ७९३, जर्मनीमा १ लाख ४३ हजार ४७५, बेलायतमा १ लाख १४ हजार २१७, चीनमा ८२ हजार ७१९, टर्कीमा ८२ हजार ३२९ र इरानमा ८० हजार ६८६ जना संक्रमित पुगेका छन् ।

नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ भने ३ जना निको भएर घर फर्किएका छन् । शुक्रबार एकै दिन उदयपुर र चितवनबाट १४ जना संक्रमित थपिएका थिए । शनिबार थप एकजना विराटनगरका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उदयपुरको त्रियुगास्थित एक मस्जिदबाट ल्याइएकामध्ये थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएका व्यक्तिका विषयमा थप विवरण संकलन भइरहेको बताइएको छ । मन्त्रालयका अनुसार शुक्रबार भेटिएका १४ जना संक्रमितको कन्ट्राक ट्रेसिङ गर्ने काम भइरहेको छ । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer