२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तर्राष्ट्रिय झापाली समाजले पाँच लाखको किट दिने


बिर्तामोड, जेठ १७ । अन्तर्राष्ट्रिय झापाली समाजले झापाका स्थानीय तहलाई पाँच लाख रुपैयाँबराबरको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट किट दिने भएको छ ।

जुम एप्समार्फत हिजो बसेको समाजको बैठकले झापामा कोरोना भाइरस परीक्षणको दर बढाउन किट प्रदान गर्ने निर्णय गरेको हो । समाजका अध्यक्ष छत्र सुब्बाका अनुसार आफ्नो गृह जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरुमा प्रारम्भिक चरणको राहतस्वरूप टेस्ट किट प्रदान गर्न लागेको हो । पाँच लाख मूल्यको झन्डै १ हजार २५० थान किट उपलब्ध हुनेछ ।

समाजका संरक्षक दिनेश पोखरेलका अनुसार कोरोनाको यो महामारीको समयमा आफ्नो जिल्ला र जिल्लाबासीहरुसँग भौतिक दूरीले टाढा भए पनि अन्तर्राष्ट्रिय झापाली समाज राष्ट्रिय कार्यसमितिहरूसँग समन्वय गर्दै झापामा राहत कार्यको सुरूवात गर्ने बैठकले निर्णय गरेको छ ।

यसैबीच, ‘एकका लागि एक’ अभियानअन्तर्गत झापा जिल्लामै प्रस्तावित कोरोनाको परीक्षण गर्ने ल्याबका लागि पनि समाजले सहयोग गर्ने समाजका प्रवक्ता बालहरि राईले जानकारी दिए । ‘एकका लागि एक’ अभियानले झापामा कोरोना संक्रमण बढिरहेकाले जिल्लामै अस्पताल निर्माण गर्ने सोच पनि बनाएको छ ।

समाजका उपाध्यक्ष नविन पोखरेल हाल झापामै राहत वितरणमा लागेका छन् । उनकै समन्वयमा आवश्यकताअनुसार स्थानीय तहमा किट हस्तान्तरण गरिनेछ । आवश्यकताअनुसार अन्य राहत वितरण कार्यलाइ समेत निरन्तरता दिइने समाजका सल्लाहकार रूपराज मैनालीले बताए ।

समाजले यसअघि बाढीपीडित झापालीको ९ वटा घर बनाइदिएको थियो । त्यस्तै, तीनवटा एम्बुलेन्स सञ्चालन गरी जिल्लाबासीको सुखदुःखमा जोडिरहेको अध्यक्ष सुब्बाले स्मरण गराए । समाज विश्वभर छरिएर रहेका झापालीहरुको छाता संगठन हो ।

अनलाइन बैठकमा समाजका निवर्तमान अध्यक्ष तथा संरक्षक दिनेश पोखरेल, वरिष्ठ उपाध्यक्ष दिपक खनाल, उपाध्यक्षहरु दिपक ओली, दिपक चुडाल, नविन पोखरेल, कोषाध्यक्ष चूडामणि कार्की, प्रवक्ता बालहरि राईलगायत पदाधिकारीको सहभागिता थियो भने सञ्चालन महासचिव खेमराज जमरकट्टेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer