
बिर्तामोड, बैशाख १८ । महँगीको मार खेपिरहेका नागरिकको भान्सा ग्यासको मूल्य बढाइएसँगै अब झन् आर्थिक भारमा परेको छ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य बढाएको छ ।

पेट्रोलमा झिनो रकम २ रुपैयाँ घटाएको छ भने डिजलको मूल्य १२ रुपैयाँ घटाएको । ग्यासमा भने प्रतिसिलिन्डर १५० रुपैयाँ बृद्धि गरिएको छ । समायोजनपछि अब पूरा सिलिन्डर खाना पकाउने ग्यासको मूल्य २१६० रुपैयाँ पुगेको छ ।

निगमले एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ः०१ बजेदेखि लागु हुनेगरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँले घटाएको हो ।

नयाँ मूल्यअनुसार अब पहिलो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा कायम भएको छ ।
निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ७ रुपैयाँले वृद्धि हुँदा अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४६ बढाइएको छ ।






