२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा देउसीभैलोमा रोक, होटल–रेष्टुरेन्ट राति ८ बजेसम्म खोल्न पाइने


बिर्तामोड, कात्तिक २३ । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि बिर्तामोड नगरपालिकाले यस वर्षको तिहारमा देउसीभैलो खेल्न रोक लगाएको छ ।

बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिले देउसीभैलो खेल्ने, नाचगान गर्नेजस्ता सबै क्रियाकलापहरु बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार बसेको समितिको बैठकले सबै पक्षसँग समन्वय गरी चाडबाडलाई एकाघरमा मात्र सीमित गरी मनाउने साथै नगरभित्र सञ्चालित होटल, रेष्टुरेन्ट राति ८ बजेपछि बन्द गर्ने निर्णयसमेत गरेको छ ।

नगरभित्रका व्यापार व्यवसाय र बजारहरु पूर्णरुपमा नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने गराउने, त्यसको नगर प्रमुख, उपप्रमुख समेतको टोलीबाट अनुगमन गर्ने, नगरभित्र रहेका यातायात कार्यालय, विद्युत प्राधिकरणजस्ता भीडभाड हुने कार्यालयबाट दिइने सेवालाई व्यवस्थित गर्नगराउन नगर प्रमुखको नेतृत्वमा सम्बन्धित कार्यालयको अनुगमन गरी व्यवस्थापनको प्रवन्ध गर्ने गराउने निर्णय गरिएको छ ।

कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण भई घरमा नै पिसिआर नगरी बसेका सबै व्यक्तिहरुलाई पहिचान गरी पिसिआरको दायरालाई बृद्धि गर्ने, बिरामी पहिचानको लागि वडामार्फत टोल विकास संस्था परिचालन गर्ने, निःशुल्क पिसिआर टेस्टको लागि स्रोतको पहिचान गर्ने निर्णय गरिएको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

उनले हालको बिर्तामोडको वस्तुगत स्थितिबारे जिल्ला कोरोना समन्वय समितिमा जानकारी दिँदै कोरोना संक्रमणको रोकथाम गर्न लकडाउन वा अन्य उपयुक्त विकल्प सहितको कार्यक्रम ल्याउन अनुरोध गर्ने जानकारी दिए ।

त्यस्तै, संक्रमित मृतकको दाहसंस्कारका लागि अत्यधिक मानिस भेला भई मलामी जाने परिपाटीलाई कम गर्न सबैमा आह्वान गर्ने साथै समवेदना दिन जाँदा समेत सामाजिक दूरी र सवारी मापदण्ड कायम गर्न अनुरोध गर्ने निर्णय गरिएको शिवाकोटीले बताए ।

नगरभित्र स्थापना भएको ५ बेडको अक्सिजनसहितको आइसोलेसन अस्पतालमा बेड संख्या थप्ने व्यवस्था मिलाई नगरभित्र रहेका निजी अस्पतालहरुसँग समन्वय र सहयकार्य गरी कोभिडका बिरामीहरुका लागि छुट्टै भेन्टिलेटरसहितको आइसियु सञ्चालन गर्न पहल गर्ने निर्णय गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer