२०८२ जेठ २६ सोमबार
Jhapa Today
Adv top

१० लाख डोज खोप किन्न सहारा नेपाल तयार


बिर्तामोड, साउन ९ । झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न तयार रहेको जनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले शनिबार बिहान फेसबुकमा स्टाटस लेखेका छन्, ‘यदि मिल्छ भने १० लाख डोज खोप सहारा नेपाल खरिद गर्न तयार छ ।’ उनले झापाबासी र संस्थाका सदस्यहरुका लागि आफैँ खरिद गरेर खोप लगाउन तयार रहेका जनाएका छन् । सहारा देशकै उत्कृष्ट र सबैभन्दा ठलो सहकारी हो ।

संस्थाका सचिव समेत रहेका गिरीले उक्त कार्यका लागि आवश्यक पहल गरिदिन स्थानीय सरकार र प्रदेश सरकारलाई आग्रह गरेका छन् । सरकारले अनुमति दिए सहकारी र सामुदाय मिलेर सबै झापाबासीका लागि तत्काल खोप उपलब्ध गराउन सकिने गिरीले लेखका छन् ।

यसका लागि जनस्तरबाट समेत खबरदारी र राजनीतिक तहबाट सरकार समक्ष पहल कदमी आवश्यक रहेको उनको भनाइ छ । अहिलेसम्म सरकारले समुदाय तथा निजी क्षेत्रलाई खोप खरिदको अनुमति दिएको छैन ।

यदि सरकारले निर्णय गरेर निजी क्षेत्रलाई जिम्मेवारी दिने हो भने झापाका लागि भारत, चीन तथा तेस्रो मुलुकबाट तत्काल खोप ल्याउन सकिने सामाजिक अभियन्ता तथा एकका लागि एक अभियानका संयोजक समेत रहेका गिरीले जनाएका छन् ।

विभिन्न मुलुकले अनुदानमा दिएको तथा सरकारले चीनबाट खरिद गरेको खोप नेपालका थोरै मात्र नागरिकले लगाएका छन् । अधिकांश नागरिकहरु खोपबाट बञ्चित छन् । विकसित मुलुकहरुमा अधिकांश नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

नेपालमा पर्याप्त मात्रामा खोप उपलब्ध नहुँदा पछिल्लो समय कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । झापासहित मुलुकका १० जिल्ला संक्रमित संख्याको उच्च सूचीमा छन् । आफ्ना सदस्य र झापावासीको स्वास्थ्य सुरक्षाका लागि संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत एकदेखि डेढ करोड रुपैयाँसम्म खोप खरिदमा लगानी गर्न सकिने गिरीले उल्लेख गरेका छन् ।

Adv footer