
बिर्तामोड, साउन २२ । बिर्तामोड उद्योग वाणिज्य संघले गत साता बिर्तामोडको टाइमलेस मुमेन्ट होटलमा लुकाएर राखिएको कोभिडविरुद्धको खापका विषय आज कोरोना भ्याक्सिन अनियमितता छानबिन समितिलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय भद्रपुर पुगेर संघको एक टोलीले कसैको दबाबमा नपरी निष्पक्ष छानबिन गर्न माग गरेको छ । साउन १५ गते बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन ओम खड्कासहितले कोरोनाविरुद्धको भेरोसेल खोप लुकाईछिपाई राखेको अवस्थामा भेटिएको थियो ।
‘छानबिनप्रति दोषीलाई उन्मुक्ति दिनेगरी विभिन्न राजनीतिक दल तथा संगठनका नाममा दबाब दिएको चर्चा लगायतका विषयमा यस बिर्तामोड उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ’, ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
उद्योगी–व्यवसायी तथा आवद्ध श्रमिक, कामदार कर्मचारी खोपबाट अहिलेसम्म बञ्चित हुनु परेको संघल जनाएको छ । संघले यस क्षेत्रका उद्योगी व्यवसायी तथा श्रमिक, कर्मचारीलाई व्यवसायको प्रकृतिको प्राथमिकीकरण गरी खोप उपलब्ध गराउन गत जेठबाट नै बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालयसँग पटकपटक माग तथा ध्यानाकर्षण गराए पनि हालसम्म सुनुवाई नगरिएकोमा खेद व्यक्त गरेको छ ।

होटलमा खोप लुकाएर पहुँचवालाहरुलाई आर्थिक लाभ र अन्य स्वार्थबाट प्रेरित भई बिर्तामोडको स्वास्थ्य शाखाले नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्दै चरम अनियमितता गरेको आंशका उब्जाएको संघले जनाएको छ ।
‘बिर्तामोडमा विगतदेखि खोप अनियमितता भइरहेको आर्थिकलाभ लगायतका उद्देश्यले केही जिम्मेवार व्यक्तिहरुले खोपको गम्भीर अपचलन गरिरहेको तथा खोप पाउनुपर्ने लक्षित समूहको स्वास्थ्यमाथि गम्भीर रुपमा खेलबाड भइरहेको विषयमा कतिपय सूचनाहरु यस संघलाई प्राप्त भएका कारण संघले चासो र चिन्ताका साथ त्यस विषयमा छानबिन समितिको ध्यानाकर्षण गराउने उद्देश्यले यो ज्ञापन पत्र बुझाएका छौँ’ ज्ञापनपत्रमा भनिएको छ ।

संघले घटनाबारे निष्पक्ष छानबिन र दोषीलाई तत्काल कानुनी कारबाहीको माग गरेको छ । निष्पक्ष रुपमा छानबिन गरी होटलमा खोप लुकाइएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषी पाइए फोकल पर्सन ओम खड्कासहित संलग्न सबैलाई कारबाही गर्न छानबिन समिति, तीनै तहका सरकार र स्थानीय प्रशासनसमक्ष संघले जोडदार माग गरको छ ।
’यदि दबाब र प्रभावमा छानबिन प्रक्रिया प्रभावित भई वास्तविकता उजागर नभए र दोषीलाई कारबाही नभए बिर्तामोड उद्योग वाणिज्य संघ सशक्त खबरदारीका लागि चरणबद्ध आन्दोलनमा उत्रने जानकारी गराउँदछौँ’, ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र महासचिव अर्जुन मैनालीको हस्ताक्षर रहेको छ ।