२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

लगातारको वर्षाले झापामा ११२ घर डुबानमा


बिर्तामोड, भदौ १३ । लगातारको वर्षका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । भदौ लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ ।

झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनिया, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेकोे हो । ती क्षेत्र बढी प्रभावित इलाका हुन् ।

शिवसताक्षी र कनकाई नगरपालिका तथा गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल गाउँपालिकाका बस्तीहरू अत्यधिक वर्षाका कारण जोखिममा छन् । झापाका यी स्थानीय तह बाढीबाट बर्सेनि पीडित बन्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार वर्षाका कारण झापामा ११२ भन्दा बढी घर डुबानको उच्च जोखिममा परेका छन् । वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

डुबानमा पर्ने अधिकांश घर गौरीगञ्ज गाउँपालिकाका छन् । वडाध्यक्ष कात्तिकलाल राजवंशीका अनुसार महाभराको कुञ्जीबारी, रंगियाथान, बालुबथान क्षेत्रका एक सयभन्दा बढी घर डुबानको उच्च जोखिममा छन् ।

माई, देउनिया र कमल खोलाको बढीले धान खेती कटान सुरु गरेको छ । बस्ती डुबानबाट जोगाउन प्रहरी चौकी महाभाराले सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ ।

त्यस्तै, झापा गाउँपालिकाको पन्थापाडाका १२ घर डुबानमा परेका छन् । सो बस्तीमा करिब ३ फिट पानी घरआँगनमा जमेको छ । उक्त स्थानमा प्रहरी चौकी शरणामतीबाट प्रहरी परिचालन गरिएको छ । सो स्थानमा बिरिङ खोला गाउँ पसेको हो ।

कचनकवल गाउँपालिकाको पाठामारीमा मेची नदीले तटीय क्षेत्र कटान गरिरहेको छ । मेची नदीले केही दिनअघि ११२ नम्बरको नेपाल–भारत सीमा पिलर बगाएको थियोे । ११२ नम्बर पिलर नजिक नेपाल र भारत दुवैतर्फको बस्ती रहेको छ । बढीले ११९ देखि २३ नम्बर सीमा पिलर डुबाएको छ ।

घाग्रा खोलाको बाढीले अर्जुनधारा नगरपालिकाको पाण्डवपुर बस्ती जोखिममा परेको छ । बाढीले अर्जुनधारा–५ मा तटीय क्षेत्र कटान गरिरहेको छ । तटीय क्षेत्रमा ठुलो क्षति हुन सक्ने स्थानीयले बताएका छन् ।

शिवसताक्षी–६ को शिवगञ्ज तथा दक्षिणको क्षेत्र कटान र डुबानको जोखिममा परेको छ । सो क्षेत्र हरेक बर्खामा बढी क्षति हुने स्थान हो । जिल्लाका १३१ वटै वडाको अवस्था बुझ्न जिल्ला विपद् व्यवस्थापन समितिले स्वयंसेवक परिचालन गरिएको समितिका सदस्य लोकराज ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer