बिर्तामोड, असोज २ । बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा सुरु गरिएको कोरोनाविरुद्धको खोप कार्यक्रममा ७३६ जना सहभागी भएर खोप लगाएका छन् ।
पहिलो दिन आज संघपरिसरमा ७३६ जना व्यवसायीले खोप लगाएको अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए । आज लागिएको भेरोसिल खोपको पहिलो मात्र हो । आज एक हजारजनालाई खोप लगाउने योजना संघले बनाएको थियो ।
पूर्वको व्यस्त सहरको रुपमा रहेको बिर्तामोडका बाँकी व्यवसायीलाई भोलि असोज ३ गते कोरोनाविरुद्धको खोप लगाइनेछ । दुई चरणमा एक हजार ९५० जना व्यवसायीलाई खोप लगाउने कार्यक्रम बनाइएको संघका प्रवक्ता सञ्जीव घिमिरेले बताए बताए ।
संघका सदस्य तथा नेपाल औषधि व्यवसायी संघ झापाका महासचिव जीवनकुमार खड्काका अनुसार कसैले अगाडि नै खोप लगाएको र दोस्रो डोजका लागि आए पाउने छैनन् । पहिलो चरणको खोप कार्यक्रम भएकाले भ्याक्सिन नलगाउनेहरुले मात्रै यो खोप लगाउन पाउने उनले जानकारी दिए ।
कोरोनाको संक्रमणका कारण लामो समय व्यवसाय बन्द हुँदा समस्यामा परेको भन्दै यसअघि संघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग समेत गरेको थियो ।
स्थानीय, प्रदेश र संघीय सरकारसँग पटकपटक खोप लगाइनदिन आग्रह गरे पनि व्यवसायीलाई सरकारले प्राथमिकता नदिएपछि बिर्तामोड उद्योग वाणिज्य संघले आफ्नै पहलमा व्यवसायीहरुलाई खोप लगाएको हो ।