२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

छोरीको जन्मोत्सवमा महेन्द्र–ज्योति गिरीद्वारा कोषलाई एक लाख सहयोग


बिर्तामोड, कात्तिक ३ । सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् ।

गिरी परिवारले मंगलबार पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्णु निष्ठुरी, झापा शाखाका अध्यक्ष एकराज गिरी र पूर्वअध्यक्ष कृष्ण हुमागाईंलाई बिर्तामोड ४ स्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा उक्त रकमको चेक प्रदान गरेका हुन् ।

हाल काडमाडौँको ग्लोबल कलेजमा कक्षा ११ मा अध्ययनरत कृतिमाको जन्मोत्सव कात्तिक ५ गते हो । आफ्नो जन्मोत्सवको अवसर पारी झापाली पत्रकारहरुको हितमा माता–पिताले सहयोग गर्नुभएकोमा खुसी व्यक्त गर्दै उनले आफ्नो रुचि पनि समाजसेवा रहेको बताइन् ।

सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले आफ्नो कमाईको केही अंश सामाजिक र परोपकारी काममा खर्च गर्ने सोच अनुसार पत्रकारको दिगो हितका लागि स्थापित उपचार कोषमा सहयोग प्रदान गरिएको बताए । लक्ष्य अनुसार कोषलाई छिट्टै एक करोड रुपैयाँ बनाउन जोड दिँदै उनले आफ्नो तर्फबाट अझ सहयोग गर्ने बताए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

कोषमा हाल ४६ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफूले झैँ अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने सामाजिक अभियन्ता गिरीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer