२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

चौथो सुन्तला महोत्सवको तयारी अन्तिम चरणमा


बिर्तामोड, मंसिर ८ । भारतको कलकत्तामा हुने हिमालय सुन्तला पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
चौथो संस्करणको हिमालय सुन्तला पर्यटन महोत्सव आयोजक समितिले काँकरभिट्टामा पत्रकार सम्मलेन गरेर तयारीबारे जानकारी दिएको हो । नेपालमा पर्यटन प्रबद्र्धनका लागि नेपाली उत्पादन तथा संस्कृतिक झल्कने सामग्रीहरु महोत्सवमा सहभागी गराइँदै आइएको छ ।

यही मंसिर २४, २५ र २६ गते कलकत्तामा हुने महोत्सवमा पर्यटनकर्मी, पत्रकार, कृषक र संस्कृतिकर्मीको सहभागिता रहने एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमका महासचिव अर्जुन कार्कीले जानकारी दिए ।

महोत्सवमा नेपालसहित भारत, बङ्गलादेश, भुटान र म्यानमारको सहभागिता रहनेछ । महोत्सवमा नेपालको तर्फबाट २२० जनाको सहभागिता रहने भएको छ । प्रदेश १ बाट १८० जना सहभागी हुनेछन् ।

एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमले सन् २०१४ देखि महोत्सवको आयोजना गर्दै आएको छ । प्रत्येक दुई वर्षमा हुँदै आएको पूर्वनिर्धारित सुन्तला महोत्सव विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा आयोजना हुन सकेको थिएन ।

हिमालय क्षेत्रका नेपाल, भारत र भुटानमा फल्ने सुन्तला यस महोत्सवका विशेष आकर्षण हुने गरेका छन् । सुन्तलाबाहेक एबोकडो, किबी, अकबरे खुर्सानी, अल्लोको उत्पादन, चुरापोते, आर्ट, पर्यटकीय स्थलका नक्साहरु र हस्तकलाका सामग्री लगायतको समेत प्रदर्शन गरिने कार्कीले बताए ।

कार्यक्रममा हस्तकलाका साथै संस्कृति झल्किने बालन, संगिनीको समेत प्रस्तुति गरिनेछ । महोत्सवले छिमेकी देशहरुसँग सांस्कृतिक आदानप्रदान गर्ने अवसर मिलाएको कार्कीले बताए । महोत्सवकै कारण नेपाल आउने पर्यटकहरु बढेको उनको भनाइ छ । विशेष गरी ग्रामीण पर्यटनलाई प्रबद्र्धन गर्न महोत्सवले सहयोग पु¥याउने आयोजकको विश्वास रहेको छ ।

महोत्सवमा झापाका सामुदायिक वनमा पाइने जडिबुटीसमेत महोत्सवमा प्रदर्शन गरिनेछ । कार्यक्रममा नेपाल पर्यटन बोर्डको समेत सहभागिता रहनेछ । कार्यक्रममा नेपाली पत्रकार र भारतीय पत्रकारको सहभागितामा चेलिबेटी बेचबिखन नियन्त्रण, दुई देशबीचको व्यापारिक सम्बन्धका विषयमा छलफल कार्यक्रमको तयसमेत गरिएको छ ।

महोत्सवको उद्घाटन पश्चिम बंगालका पर्यटनमन्त्रीले गर्ने छन् । कार्यक्रममा नेपाल, भारत, भुटान, बंगलादेशलगायत मुलुकका वाणिज्य दूतको उपस्थिति रहनेछ । महोत्सवमा १० लाखले अवलोकन गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer