२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

निजीस्तरमा नेपालमै पहिलो मोडुलर ओटी पूर्वाञ्चल क्यान्सर अस्पतालमा


बिर्तामोड, पुस २२ । झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले निजीस्तरमा नेपालमै पहिलोपटक युरोपेली स्तरको अत्याधुनिक मोडुलर अपरेसन थिएटर (ओटी) सञ्चालनमा ल्याएको छ ।

आज अस्पतालको सभाहलमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मोडुलर अपरेसन थिएटर सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन् । अपरेसन थिएटरका लागि अस्पताल भवनको एउटा पूरै तला प्रयोगमा ल्याइएको छ ।

जर्मनीबाट ल्याइएको पाँचवटा मोडुलर अपरेसन थिएटर स्थापना र सञ्चालनका लागि झन्डै ५० करोड रुपैयाँ लगानी गरिएको प्रसाईंले जानकारी दिए ।

अस्पतालले सेवा विस्तार गर्ने क्रममा दुईवटा अत्याधुनिक मोडुलर अपरेसन थियटर सञ्चालनमा ल्याएको जानकारी दिँदै बिएन्डसी अस्पतालका समेत कार्यकारी निर्देशक प्रसाईंले उक्त थिएटर कुनै पनि संक्रमणबाट मुक्त रहने बताए । त्यही भएर ढोकाहरु सेन्सरबाट खुल्ने, बन्द हुने बनाइएको छ ।

मोडुलर अपरेसन थिएटरमा अत्याधुनिक सुविधा समेत रहने डा. राजु श्रेष्ठले बताए । कलेजो, फोक्सो प्रत्यारोपणको लागि मोडुलर थिएटर अत्यावश्यक पर्ने उनले जानकारी दिए ।

प्रसाईंले बिर्तामोडलाई मेडिकल टुरिजम को रुपमा विकास गर्दै लैजाने उद्देश्य रहेको सुनाए । उनले विदेशी मुलुकबाट पनि मिर्गौलालगायत अंग प्रत्यारोपणको लागि बिरामीको चाप बढ्ने विश्वास लिएको बताए ।

अत्याधुनिक साधनसहितको मोडुलर अपरेसन थिएटर सञ्चालनमा आएपछि बिएन्डसी हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पताल अंग प्रत्यारोपणका लागि आत्मनिर्भर भएको जनसम्पर्क तथा सूचना अधिकृत प्रमिस गिरीले बताए । मानव अंग प्रत्यारोपणका साथै जटिल शल्यक्रियालाई थप सहज बनाउन मोडुलर अपरेसन थिएटर स्थापना गरिएको उनले जानकारी दिए ।

नेपालमा यसअघि सरकारीस्तरमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणको लागि नेपालमै पहिलोपटक मोडुलर अपरेसन थिएटर सञ्चालनमा ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer