
बिर्तामोड, पुस २२ । बिर्तामोडस्थित मनकामना कलेजमा साताव्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ ।
कलेजको खेल मैदानमा बुधबारदेखि अन्तर कक्षागत भलिबल प्रतियोगिता सञ्चालन भएको हो । विभिन्न तहका १० वटा टिमबीच सञ्चालित भलिबल प्रतियोगिताको उद्घाटन क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले गरेका थिए ।
बिए, बिबिएस, बिएसडब्ल्यु, बिएड, कक्षा ११, कक्षा १२, कम्प्युटर साइन्स, बिजनेस स्टडिज लगायतका भिन्न कक्षाहरुबाट टिम तयारी गरी आन्तरिक प्रतिस्पर्धा भइरहेको हो ।
अनुशासन, गतिशलीता र स्वास्थ्यका लागि खेलकुद अपरिहार्य हुने भएकाले विद्यार्थीहरुमा खेलप्रतिभाको विकास गर्न कलेजभित्र यस्तो प्रतियोगिता हरेक वर्ष सञ्चालन गर्दै आएको उद्घाटन मन्तव्यका क्रममा क्याम्पस प्रमुख भट्टराईले बताए ।
शिक्षा भनेको किताबभित्रको कुरा जानेर ब्याख्या गर्नेमात्र नभई व्यावहारिक जीवनका अनेकन पाटाहरु बुझ्नु, अनुभव गर्नु पनि हो भन्दै क्याम्पस प्रमुख भट्टराईले मनकामना कलेज भनेको शिक्षासँगै अतिरिक्त क्रियाकलापमा अग्रसर पुरानो शैक्षिक प्रतिष्ठान भएको अवगत गराए ।

कलेजका शैक्षणिक संयोजक तथा भलिबल प्रतियोगिताका संयोजक कुमार थपलियाले बाह्य प्रतियोगितामा सहभागिता जनाउन सक्षम विद्यार्थी उत्पादन गर्न हरेक वर्ष यस्तो प्रतियोगिता गरिँदै आएको बताएका छन् ।
खेल सप्ताहअन्तर्गत फुटसल र क्रिकेटका खेलहरु पनि यसै साता सञ्चालन गरिने जनाइएको छ । दुवै प्रतियोगिताका लागि टिमहरु तयारी अवस्थामा रहेको कलेजका शैक्षणिक संयोजक थपलियाले जानकारी दिए ।
फुटसलका खेल संयोजक रजत ओझाका अनुसार बिर्तामोडको एब्सोल्युट फुटसलमा कलेजका ६ वटा टिमहरुबीच प्रतिस्पर्धा गर्ने तयारी भएको छ । बिएसडब्ल्यु, बिए दोस्रो र तेस्रो, बिबिएस ए र बी, बिएड र बिए पहिलो वर्षका गरी ६ वटा टिम फुटसल खेल्न तयार रहेका संयोजक ओझाको भनाइ छ ।
मनकामना कलेजले पूर्वमा नै पहिलोपटक २०६७ सालमा पत्रकारिता तथा आमसञ्चार विषयको स्नातक तह (बिए) सञ्चालन गरेको थियो । पत्रकारिता तथा आमसञ्चार विषय अध्ययन गर्ने विद्यार्थीहरुले प्रत्येक वर्ष विभिन्न स्थानको अवलोकन भ्रमण गर्न पाउने, विभिन्न सञ्चारमाध्यममा रहेर काम गर्न पाउने भएकाले प्रत्येक वर्ष विद्यार्थी संख्या बढिरहेको सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं बताउँछन् ।
कलेजले आन्तरिक खेल प्रतियोगिताहरु गराएर, पत्रकारिताका विद्यार्थीलाई हरेक वर्ष शैक्षिक भ्रमण गराएर विद्यार्थीमा थप उत्साह भर्ने गरेकाले पनि मनकामना कलेजलाई पूर्वी भूगोलका धेरै अभिभावकले रुचाएको उनको भनाइ छ ।
Comments are closed