२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

द भ्वाइस किड्सका विजेता जेनिश र उपविजेता अनुजालाई सम्मान


झापा, माघ ७ । बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको पहिलो सिजनको विजेता जेनिश उप्रेती र उपविजेता अनुजा कडरियालाई झापामा स्वागत सम्मान गरिएको छ ।

आज एक कार्यक्रमको आयोजना गरी उनीहरु दुवैको संगीत विद्यालय बिर्तामोडको सरगम संगीतालयमा स्वागत सम्मान गरिएको हो । सम्मानअघि जेनिशलाई बग्गीमा चढाएर बिर्तामोड नगर परिक्रममा गराइएको थियो ।

जेनिशलाई उनी अध्ययन गर्ने नवोदय फनमिन शिक्षा सदन र सरगम संगीतालयले प्रशंसापत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको थियो । नवोदय फनमिनले जेनिशलाई एकथान हारमोनियसमेत उपहार दिएको छ ।

विद्यायलका तर्फबाट संस्थापक प्रिन्सिपल धर्मराज माझी तथा संस्थापक सञ्चालक आशिष खरेल र सरगमका तर्फबाट प्रबन्ध निर्देशक तथा जेनिशका संगीत प्रशिक्षक दिपक रायमाझीले सम्मान गरेका थिए ।

त्यस्तै, उपविजेता अनुजालाई सरगमले प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । सम्मान कार्यक्रममा अनुजाका बुवा कुमार कडरिया, जेनिशका काका रमेश उप्रेती, हाल जेनिश अध्ययनरत चितवन खैरहनीमा रहेको मोर्डन इङलिङ बोर्डिङ स्कुलका प्रिन्सिपल केएन सिलवाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका थिए । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखकोे चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् ।

झापा अर्जुनधारा ११ बसपार्कमा बस्दै आएका जेनिश चार वर्षको उमेरदेखि नै गायनमा अभ्यस्त भएका थिए । कक्षा ५ सम्म बिर्तामोडको फनमिन स्कुलमा पढेका ११ वर्षीय उनी सरगम संगीतालयमा संगीत सिक्दै आएका छन् ।

बुवाको घर हेटौँडा भए पनि उनी आमाको माइती धाइजन भएकाले बिर्तामोडमा स्थायी रुपमा बस्दै आएका थिए । आमा जानुकाको छ महिनाअघि ३७ वर्षको उमेर निधन भएको थियो भने बुवा रोजगारीका लागि दुबईमा छन् । आमाको निधनपछि काका रमेशको अभिभाकत्वमा उनी हेटौँडामा बस्न थालेका छन् ।

डिजिटल अडिसनमा सहभागी २० हजारमध्ये एक सयजना ब्लाइन्ड अडिसनमा सहभागी थिए । ब्लाइन्ड राउन्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका थिए ।
६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुको सहभागिता रहेको योे रियालिटी शोमा कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए । जेनिश टिम प्रमोदमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer