२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा नेपालको एटिएम मेसिन र कार्ड सञ्चालनमा


बिर्तामोड, चैत २१ । झापा बिर्तामोडको सहारा नेपाल साकोसले २७ औँ स्थापना दिवसको अवसर पारेर पूर्वमै पहिलोपटक एटिएम मेसिन सञ्चालनमा ल्याएको छ ।

आज केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगी र संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले एटिएम मेसिनको अनावरण गरेका थिए ।

संस्थाले केन्द्रीय कार्यालय र धुलाबारी सेवाकेन्द्रमा एकैसाथ एटिएम सेवा सुरु गरेको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । एटिएम सेवालाई आगामी दिनमा विस्तार गर्दै लैजाने संस्थाले जनाएको छ ।

सहाराले आजै संस्थाको एटिएम कार्ड पनि सार्वजनिक गरेको छ । कार्ड आजैबाट सञ्चालनमा आइसकेको छ । मन्त्री सरावगीले सहाराका एकजना सदस्यको एटिमएम कार्डबाट रकम निकालेर मेसिन सञ्चालनमा आएको जनाउ दिएका थिए ।

सहाराले सञ्चालनमा ल्याएको एटिएम कार्ड नेपाल र भारतमा सञ्चालनका लागि स्वीकृत छ । संस्थाले जारी गरेको कार्ड एससिटी युपिआइ डेबिट कार्ड हो ।

वार्षिकोत्सवमा वितरित प्रेस विज्ञप्तिअनुसार सहारामा हालसम्म एक लाख ६० हजार सदस्य पुगेका छन् भने ७७ वटा सेवाकेन्द्र रहेका छन् । सहारा नेपाल छवटा जिल्लामा पूर्ण रुपमा र पाँच जिल्लाका दुईदुईवटा गरी ८० स्थानीय तहमा कार्य क्षेत्र बनाएर काम गरिरहेको छ ।

संस्थाको शेयर पुँजी एक अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने बचत नौ अर्ब ५६ करोड रुपैयाँ छ । संस्थाले एक हजार ३१६ करोड रुपैयाँ ऋण लगानी गरेका छ । जगेडा तथा अन्य कोषमा एक अर्ब रुपैयाँ रहेको गिरीले बताए ।

२७ वर्षमा आइपुग्दा संस्थाले दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको जनाइएको छ । लघुवित्तमार्फत महिला सशक्तीकरणमा योगदान पुर्याएबापत सन् २०१२ मा सियुएमआइ पर्फमन्स अवार्ड र सदस्यहरुको संरक्षणमा काम गरेबापत सन् २०२१ मा स्मार्ट सर्टिफिकेट प्राप्त गरेको हो ।

संस्थाले गरिबी निवारण, स्वास्थ्य, शिक्षा, जैविक विविधता तथा वातावरण संरक्षण, खाद्य सुरक्षा, स्वच्छ ऊर्जाका क्षेत्रमा काम गर्दै दिगो विकास लक्ष्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

त्यस्तै, रोजगारी सिर्जनामा योगदान, कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग, पशुपालनमा किसानलाई सहयोग, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा योगदान पुर्याउँदै आएको छ ।

सञ्चारकर्मी केशव भट्टराईले सहजीकरण गरेको कार्यक्रममा शेयर सदस्य स्वर्गीय माधव बराइलीको परिवारलाई परिवार राहत रकमअन्तर्गत पाँच लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, संस्कृति संरक्षण कार्यक्रमअन्तर्गत रामचोक नौमती बाजा समूहलाई वाद्यवादन र स्थानीय छजना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेको कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, संस्थाका संरक्षक नरनाथ गिरी, राप्रपा झापा अध्यक्ष केशव ओझा, कांग्रेस झापा सभापति देउकुमार थेवे, एमाले झापा अध्यक्ष दिपक कार्की र प्रमुख अतिथि सरावगीले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer