
बिर्तामोड, चैत २९ । झापा सुपर लिग (जेएसएल) खेल्न लागेको बिर्तामोडको बोस्टन ब्लास्टर्सले करण केसीलाई मैदान उतार्ने भएको छ ।
आज धुलाबारीमा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक विनित बाँस्तोलाले करण केसी क्लबसँग अनुबन्धित भएको जानकारी दिए । बोस्टन ब्लास्टर्स तीन वर्षअघि बिर्तामोडमा स्थापना भएको बोस्टन क्रिकेट एकाडेमीको क्लब हो ।

यसअघि विभिन्न प्रतियोगिताको उपाधि समेत उचालिसकेको क्लबले जेएसएलमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहितका खेलाडी मैदान उतार्ने योजना प्रमुख विशाल अग्रवालले जानकारी दिए ।

बैशाख ३ गतेदेखि काँकरभिट्टामा हुने जेएसएलमा उपाधि जित्ने लक्ष्यसाथ भाग लिने क्लबका अध्यक्ष सोभित बाँस्तोलााले बताए । नेपाली क्रिकेटलाई अझ मजबुद बनाउन बोस्टन ब्लास्टर्सले आगामी दिनमा योगदान पुर्याउने प्रशिक्षक बाँस्तोलाले जानकारी दिए ।

क्लबले मार्की खेलाडीको रुपमा समिर कार्की र आइकोनिक खेलाडीका रुपमा मिनास थापालाई भित्र्याएको छ ।
त्यस्तै, बिर्तामोडका सुरज खड्काको कप्तानीमा भाग लिने क्लबका अन्य खेलाडीहरुमा अभि योङहाङ लिम्बू, अमन गोयल, अर्बिन क्षेत्री रहेका छन् ।

वसन्त सिर्जन कोइराला, विवेक चिमरिया, विदान गोश्वामी, विपिन कार्की, दिपु भूजेल, नविन पाठक, राहुल पाठक, सरोज श्रेष्ठ, सिद्धार्थ कुमाल र सुनिल आचार्य बोस्टन ब्लास्टर्सबाट खेल्ने छन् ।

वारियर अफ इस्ट भन्ने नाराका साथ बोस्टन ब्लास्टर्सले जेएसएल खेल्नेछ । बोस्टन क्रिकेट एकाडेमीले खेलाडी उत्पादनमा काम गर्दै आएको छ ।