२०८२ बैशाख ११ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसीद्वारा साङ्गलोमा बाँधेर राखिएका युवाको उद्धार गरी उपचार सुरु


बिर्तामोड, बैशाख ५ । स्वास्थ्य सेवासँगै सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय झापाको बिएन्डसी अस्पताल तथा मेडिकल कलेजले हल्दिबारीका एकजना मानसिक अवस्था बिग्रिएको भनेर परिवारले साङ्गलोमा बाँधेर राखेका युवाको उद्धार गरी उपचार सुरु गरेको छ ।

झापा हल्दिबारीका २३ वर्षीय गंगाप्रसाद ढकालको बिएन्डसी अस्पतालले उपचार गरिदिने भएको हो । अस्पतालका कार्यकारी निर्देशक तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले उनको सम्पूर्ण उपचार गरिदिने भएका छन् ।

मनोरोगका बिरामी ढकालका विषयमा विभिन्न समचारमाध्यममा खर्च अभावमा उपचार नपाएर बाँधिएर बसेको भन्ने जानकारी पाएपछि आफूले उद्धार गरी सम्पूर्ण उपचार निःशुल्क गरिदिने घोषणा गरेको अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले बताए ।

‘झापामा कुनै पनि व्यक्ति पैसा नभएर उपचारबाट बञ्चित नहोस् भनेर अभियान नै चलाएको छु,’ उनले भने, ‘२१ औँ शताब्दीमा पनि मान्छेले दाम्लोमा बाँधिएर बस्नुपर्ने बाध्यता हुनु दुःखद् हो ।’

बिरामीलाई सोमबार नै बिएन्डसी ल्याएर स्वास्थ्य परीक्षण सुरु गरिएको अस्पतालका जनप्रशासन अधिकृत प्रमेस गिरीले जानकारी दिए । पुसदेखि मानसिक अवस्था बिग्रिएका ढकालको उपचार गर्ने पैसा नहुँदा बाध्यताले घरमै साङ्गलोले बाँधेर राख्नुपरेको उनका बुवा चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

Adv block_7_1

अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले यसअघि पनि एक मनोरोगका बिरामी बालकको उद्धार गरी उपचार गराएका थिए । अस्पतालले झापा क्षेत्र नम्बर ३ मा चार हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा पनि गरिसकेको छ ।

Adv footer