
बिर्तामोड, असार १५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगमी सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का जनरल म्यानेजर (महाप्रबन्धक) वृतान्त खनालले आगमी सेप्टेम्बरमा नेपालले अस्ट्रेलिया भ्रमण गर्ने जानकारी दिएका छन् ।

नेपालले अस्ट्रेलियामा कुन टोलीसँग खेल्ने त्यो भने पक्का भएको छैन । वृतान्तका अनुसार नेपालले त्यहाँ क्लब टोलीसँग खेल्ने सम्भावना छ ।
‘अस्ट्रेलिया भ्रमणको बारेमा तयारी सुरु भएको हो । अस्ट्रेलिया भ्रमण हुन्छ । तर कुन टोलीसँग खेल्ने र सेप्टेम्बरमा कहिले खेल्ने अहिले नै भन्न सकिदैन’, खनालले भने ।

“यसको मुख्य कारण नेपालमा बर्खा लागेको भएको हुँदा यहाँ खेल गर्न सकिँदैन । अफ सिजनमा पनि अस्ट्रेलियासँग खेल गर्न सकिने हुँदा त्यहाँ खेल राखिएको हो”, उनले भने ।
‘हाम्रो सक्दो प्रयास अस्ट्रोलिया ए टिमसँग हो । तर त्यो सम्भावना म देख्दिन । किनकि तालिका अनुसार ए टोली व्यस्त छ । हामीले अस्ट्रेलियाको राम्रो क्लबसँग खेल्ने प्रयास गर्ने हो । भ्रमण चाहिँ पक्का हुन्छ’, खनालले भने ।

नेपाली टोली मंगलबार नै क्यानाडातर्फ लागेको छ । क्यानाडामा एक अभ्यास खेल र क्यानाडासँग दुई एक दिवसीय खेलपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

नेपाललाई आगमी वर्ष हुने एक दिवसीय विश्वकप ग्लोबल छनोट सिधैँ खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौँ स्थानमा छ ।

नेपाललाई सिधैँ विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।
नेपालको खेल तालिका
असार १७ (जुलाई १) – नेपालविरुद्ध ओन्टारियो अभ्यास खेल
असार २० (जुलाई ४) – नेपालविरुद्ध क्यानाडा, पहिलो एकदिवसिय खेल
असार २१ ( जुलाई ५) – नेपालविरुद्ध क्यानाडा, दोस्रो एकदिवसिय खेल
स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका
असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल
असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल
असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया
साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड