२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्यारीभिट्टा बसपार्क नौ वर्षदेखि प्रयोगविहीन


बिर्तामोड, भदौ २४ । नेपालको पूर्वीनाका काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले मेचीनगर–७ को प्याराभिट्टामा निर्माण भएको पूर्वाधारयुक्त बसपार्क नौ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

भारत, भूटान र बंगलादेशसँगको व्यापारिक नाका काँकरभिट्टा पर्यटक भित्रिने प्रवेशमार्ग हो । जहाँबाट लामो र छोटो दूरीका दैनिक पाँच सय बसहरु सञ्चालन हुँदै आएका छन् । बजारको बीचमै रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेको हुँदा बसको पार्किङ र यात्रुको व्यवस्थापन सकसपूर्ण हुने गरेको छ ।

Adv sidebar_3

पचासौँ वर्ष पछिसम्मको आवश्यकतालाई दृष्टिगत गरी पूर्वीद्वार काँकरभिट्टाबाट एक किलोमिटर पश्चिमतर्फ राजमार्गकै छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण भयो । डेढ सयदेखि दुई सयवटा बसले एकैपटकमा पार्किङ गर्न सक्ने क्षमताको नवनिर्मित प्यारीभिट्टा बसपार्क नौ वर्षदेखि प्रयोगविहीन छ ।

मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट तीन करोड ३६ लाख २८ हजार र नगर विकास कोषको ऋणबाट सात करोड ७७ लाख ७२ हजार रुपैयाँ जुटाएर संयुक्त लगानीमा प्यारीभिट्टा बसपार्क निर्माण गरेको थियो ।

बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुव शिवाकोटी लगायत १२ जनाले करौडौँ मूल्य बराबरको पाँच बिघा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए ।

Adv sidebar_4

२०६८ असार १९ गतेबाट निर्माण कार्य थालनी गरिएको थियो । दुई वर्षपछि निर्माण सम्पन्न सो बसपार्कको औपचारिक उद्घाटन भने २०७४ भदौ १५ गते मेचीनगर नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रविन कोइरालाले संयुक्त रुपमा तामझामका साथ गरेका थिए ।

निर्माण भएको चार वर्षपछि उद्घाटन भएको बसपार्क नौ वर्ष बित्दासम्म सञ्चालन नहुनुमा नगरपालिकाको नेतृत्वमा इच्छाशक्तिको अभाव मुख्य कारण रहेको तत्कालीन बसपार्क सहयोग समितिका अध्यक्ष डिल्लीराम घिमिरे बताउँछन् ।

निवर्तमान नगरप्रमुख बिमल आचार्यले बसपार्क सञ्चालनमा ल्याउन निकै पहल गरेका थिए । केही महिना चलाउने प्रयास गरियो । बसपार्कमा बसहरुलाई पार्किङ गर्न आग्रह गरियो भने त्यहाँ रहेका गाडी ग्यारेज र व्यापारिक पसलहरु भाडामा लगाइएका थिए ।

आचार्यको पहल लामो टिकेन । बसपार्कमा पार्किङका लागि बसहरु जान छाडे । भाडामा ग्यारेज (सर्भिस सेन्टर) लिएकाहरु पनि पलायन भए । पसलहरु सुनसान भए । बसपार्कमा फेरि सन्नाटा छायो ।

बसपार्क प्रयोजनविहीन भए तापनि नगर विकास कोषबाट लिएको ऋणको ब्याज वर्षेनी नगरपालिकाले बुझाइरहनु परेको छ । बसपार्क निर्माण सहयोग समितिको अध्यक्ष घिमिरेले तत्काल प्यारीभिट्टा बसपार्क सञ्चालनमा ल्याउनका लागि नगरको वर्तमान नेतृत्वलाई आग्रह गरेका छन् ।

बसपार्कलाई पूर्वाधारयुक्त बनाउन नगरपालिकाले धेरै संरचना निर्माण गरिसकेको छ । वरिपरि पर्खाल निर्माण गरिएको छ भने उत्तरतिर दुई दर्जन जति पसल कोठाको निर्माण गरिएका छन् ।

पूर्वी किनारमा एक दर्जनभन्दा बढी सर्भिस सेन्टर (ग्यारेज)का लागि कोठाहरु निर्माण गरिएका छन् । व्यापारिक पसल र ग्यारेजहरु निजी क्षेत्रलाई भाडामा दिने नगरपालिकाको योजना थियो ।

सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट पनि बसपार्कमा निर्माण गरिएको छ । रात्रिकालीन उज्यालोका लागि विद्युत र सौर्य बत्तीको पर्याप्त व्यवस्था मिलाइएको छ ।

राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्गलाई कालोपत्रे गरिएको छ । खानेपानी र शौचालयका लागि भौतिक संरचना बनाइएका छन् । तर, बसपार्क नै सञ्चालनमा नआएपछि ती संरचना सबै बेकार सावित भइरहेका छन् । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer