२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बनिनसक्दै पर्यटकको पहिलो रोजाइमा ‘ह्याप्पी ड्रिम्स चेप्टी’


बिर्तामोड, कात्तिक १६ । उल्लासमय चाडपर्वले बिदा लिएर हिउँदलाई मौसमले डाकिसकेको छ । यो घुमन्तेहरुका लागि उपयुक्त समय हो ।
पछिल्लो गन्तव्यका रुपमा इलाम र झापाको संगममा रहेको माई नगरपालिकामा भव्य पार्क ह्याप्पी ड्रिम्स चेप्टी रहँदै आएको छ । अहिले सबैभन्दा बढी चर्चा र लोकप्रियता छ त चेप्टीको ।

नजिकिँदै गरेको वनभोजको माहोल र घुम्नका लागि उपयुक्त समय भएकाले चेप्टीमा आन्तरिकका साथै छिमेकी भारतबाट पनि बढ्ने छन् ।
पार्क बन्नुअघि अत्यन्त पछाडि परेको सो क्षेत्रमा विविधतायुक्त आकर्षक पार्क बनेपछि गाउँको मुहार नै फेरिएको छ । कसैले स्थानीयलाई ठेगाना सोध्दा, जवाफ दिन अन्कनाउँथे । तर, आजकाल गर्वसाथ भन्ने गर्छन्, मेरो घर चेप्टी हो ।

ह्याप्पी ड्रिम्स चेप्टीको परियोजना सुरु भएयता स्थानीयको मुहार फेरिएको छ । स्थानीयको मात्र होइन समग्र चेप्टी क्षेत्रमा विकासले फड्को मारेको छ । जग्गाको भाउ बढेको छ । स्थानीयको दैनिकीमा परिवर्तन आएको छ । स्थानीयले व्यवसाय सुरु गरेका छन् । चेप्टीको भविष्य सुन्दर हुँदै जानुमा ह्याप्पी ड्रिम्सको स्थापना र सञ्चालन मुख्य र एक मात्र कारण हो ।

No description available.

बृहत् आकारमा फैलिएको चेप्टी पार्कलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन युवा व्यवसायी दिनेश शिवाकोटीको परिकल्पना साकार हुँदै गएको छ । शिवाकोटीले सञ्चालन गर्दै आएको पार्कको लगभग ८० प्रतिशत काम सकिएको छ ।

खण्डहर बगरलाई सौन्दर्य भरेर कसरी रमणीय स्थान बनाउन सकिन्छ भन्ने उदाहरण हेर्न दक्षिणी इलामको चेप्टी पुग्दा हुन्छ । दृढ आत्मविश्वास र इच्छाशक्ति भएका झापा सुरुङ्गाका युवा शिवाकोटीको यो ‘बिग प्रोजेक्ट’ निर्माणको अन्तिम चरणमा पुग्दा निक्कै लोभलाग्दो देखिएको छ ।

दुबईमा रहेको विश्वचर्चित मिराकल पार्कलाई बिर्साउनेगरी चेप्टीले आकार लिँदै गएको छ । माईखोलाकै किनार र चुरेको फेदीमा शिवाकोटीले निर्माण गरेका चेप्टीमा घुम्ने आउनेको संख्या थामिनसक्नुको छ । भव्य पार्कमा मन्त्रमुग्ध बनाउने दर्जनौँ स्थलहरु छन् ।

दुई सय रोपनी क्षेत्रफलमा सुरु गरिएको ह्याप्पी ड्रिम्स चेप्टीको परियोजना तीन अर्ब रुपैयाँको रहेको छ । माईखोलाको कलकल आवाज, चुरेको हरियालीको सुसाइले गर्दा ह्याप्पी ड्रिम्समा रात बिताउनेहरुलाई अझ बढी आनन्द मिल्नेछ ।

पछिल्लो दुई वर्षदेखि निर्माण भइरहेको पार्कमा अहिलेसम्म २५० भन्दा धेरै प्रकारका हेर्न र प्रयोग गर्न मिल्ने स्थलहरु तयार भइसकेको छ । खासगरी शान्त तथा स्वच्छ वातावरण, खोला र चुरेको संगममा पार्क बनिरहेकाले पर्यटकले घण्टौँ बिताउन सक्छन् ।

निर्माणाधीन अवस्थामै रहेको पार्क क्षेत्रमा रात बिताउनका लागि रिसोर्ट शैलीका घरहरु बनिरहेका छन् । दिनभरि घुम्नका लागि पानी जहाज, जीपलाइन, डुङ्गा सयर, हेलिकोप्टर, विभिन्न प्रकारका पिङ, सेल्फी डाँडा, घोडचडी, डेटिङ स्थल, नमुना हिमाललगायत स्थलहरु बनाइएको छ ।
चेप्टी घुम्न दैनिक दुई हजारभन्दा बढी पर्यटक आउने गरेका छन् । सञ्चालकले आफ्नै बससेवा सुरु गरेपछि घुम्न आउनेलाई पनि सजिलो भएको छ । चेप्टीले मोरङका पथरी र झापाको बिर्तामोडबाट छुट्नेगरी बस सुरु गरेको छ ।

ह्याप्पी ड्रिम्स चेप्टीको परियोजना सफल बनाउन शिवाकोटीले केबलकारको परिकल्पना पनि गरेका छन् । पार्कको सम्पूर्ण डिजाइन र निर्माण सल्लाह आफैँले दिँदै आएका उनले झापाको दोमुखादेखि चेप्टीसम्म झन्डै छ किलोमिटर लामो केबलकार सञ्चालनको योजना सुनाए ।

त्यस्तै, माईखोलामा पानीको सतह बढेको बेला स्टिमर र मोटरबोट सञ्चालन गर्ने उनको तयारी छ ।

माईखोला धार्मिक दृष्टिले पवित्र र पावन मानिने भएकाले चेप्टी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा पनि हेर्न सकिने उनको बुझाइ छ । त्यस्तै, दोमुखाबाट हात्ती, घोडा, उँटको यात्रा गराएर चेप्टी पुर्याउने उनको दीर्घकालीन योजना छ ।

चेप्टी पुग्नका लागि बिर्तामोडबाट खुदुनाबारी हुँदै सहिद सहादत स्थल सुखानीबाट पश्चिम लाग्नुपर्ने हुन्छ । यो बाटो छोटो तर कच्ची रहेको छ । यो छोटो बाटोमा केही समय जंगलबीच हुँदै खोलाको यात्रा रहेकाले रोमाञ्चक भने अवश्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer