बिर्तामोड, पुस १० । थाइल्यान्डमा आयोजना हुने एएसबिसी यु–२२ मेन्स एन्ड उमेन्स बक्सिङ च्याम्पियनसिपको छनोट खेलका लागि झापाका दुई खेलाडीलाई विदाइ गरिएको छ ।
नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौलाका अनुसार पुरुष तथा महिला खेलाडीको छनोट पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुनेछ ।
आज मेची रंगशालामा आयोजित एक कार्यक्रमका बीच झापाका बक्सिङ खेलाडीको विदाइ गरिएको हो । छनोटका लागि सुष्मिता राई र त्रिसा जवेगूलाई विदाइ गरिएको हो ।
बक्सिङ प्रशिक्षक डम्बरबहादुर सुब्बाको नेतृत्वमा खेलाडीलाई छनोट खेलका लागि विदाइ गरिएको थियो ।
संघका केन्द्रीय उपाध्यक्ष सिटौला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डरी, भद्रपुरका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठलगायतले विदाइ तथा शुभकामना दिएका थिए ।
जवेगूले हालै गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् । राईले ५७ केजीमा रजत पदक हात पारेकी थिइन् ।
पुरुषतर्फ ४८ केजी, ५७ केजी र ८६ केजी तौल समूहलाई समावेश गरिएको छ । त्यस्तै, महिलातर्फ ४८ केजी, ५७ केजी, ७५ केजी र ७५ केजी माथिको तौल समूहलाई समावेश गरिएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदको बक्सिङ हलमा हुने छनोटमा सन् २००१ जनवरी १ देखि २००४ डिसेम्बर ३१ सम्म जन्मेका खेलाडीले सहभागिता जनाउन पाउने छन् ।
च्याम्पियनसिप २०२३ को जनवरी १६ देखि २७ तारिखसम्म हुने संघले जनाएको छ ।