२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सिक्किममा प्रमोद खरेलको भव्य लाइभ कन्सर्ट


बिर्तामोड, माघ ६ । सिक्किमको जोरथाङमा प्रमोद खरेलले आफ्नो ब्यान्डसहित गुन्जिएका छन् । उनको गायकी सुन्न स्थानीय जोरथाङ मैदानमा २० हजारभन्दा बढी दर्शक उपस्थित थिए ।

१० सदस्यीय ब्याण्डसहित स्टेजमा उत्रिएका उनले आफ्नो हिट ट्रयाक ‘म बाँचेकै तिमीसँग माया लाउन हो’बाट प्रस्तुति सुरु गरेका थिए । सिक्किम सरकारको निम्तोमा आयोजित ’जोरथाङ माघी फेस्टिभल’ मा खरेल आफ्नो ब्यान्डसहित गुन्जिएका हुन् ।

प्रमोदले हरेक गीतमा माहोल तताएका थिए । जोरथङमा उर्लिएको भीड आफूले गरेको कन्सर्टहरुमै सबैभन्दा ठूलो रहेको गायक खरेल सुनाउँछन् ।

’यो मेरो जीवनकै ठूलो कन्सर्ट हो । दर्शकको संख्या हजारौं थियो,’ खरेलले भने । कार्यक्रममा ’मेरो दिल छ पोखरामा,’ ‘हंगामा भो’, ‘ओए झुमा’, ‘यो कुरा गोप्य’ जस्ता चर्चित गीतहरु प्रमोदले प्रस्तुत गरेका थिए ।

पछिल्लो समय ब्यान्डसहित सांगीतिक प्रस्तुति दिन थालेका प्रमोद यसरी टिमसहित यात्रा गर्न गाह्रो हुने बताउँछन् ।

’ब्यान्ड लिएर हिँड्न सजिलो छैन । तर‚ कन्सर्ट भनेकै लाइभ हो ट्र्य्राक होइन, यसको मज्जा छुट्टै छ । खर्चको हिसाबले आयोजकलाई कन्भिन्स गर्न गाह्रो पर्छ ।

तर‚ यसरी ब्यान्डसँग प्रस्तुति दिँदाको तह नै फरक हुन्छ । अहिले म लाइभ कन्सर्टलाई नै जोड दिँदै छु । दर्शकको संख्या घटे पनि कन्सर्टको स्वाद दिन लागि परेको छु,’ उनले भने ।

आयोजक समितिका प्रकाश सेञ्चुरीले सिक्किममा भएको अहिलेसम्मकै उत्कृष्ट कन्सर्टमध्ये एक भएको बताए । ‘हामीले सोचेभन्दा बबाल भयो,’ उनले भने । प्रमोद खरेललाई टिभी र युट्युबमा देखिरहेका दर्शकले आज आफ्नै ठाउँमा देख्न पाउँदा खुसीको सीमा नरहेको उनले बताए ।

उक्त सांगीतिक कार्यक्रममा सहभागी हुन जोरथाङभन्दा टाढा–टाढाबाट समेत दर्शक आएका थिए । खरेलले आफ्ना गीतबाहेक अग्रज स्रष्टाको सम्मानमा म्यासअप गीत पनि गाए ।

ब्यान्डसहित उनी नेपालगञ्ज, झापा, असाम र काठमाडौंमा गुन्जिँदै छन् । नयाँ वर्षको समयमा दुबईमा पनि उनको समूहले कन्सर्ट दिँदै छ ।

नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक खरेलले यसअघि भारतको आसाममा भएको ‘डेइजिङ फेस्टिभल’ मा ब्यान्डसहित प्रस्तुति दिएका थिए । नेपालबाट त्यहाँ सहभागी हुने खरेल पहिलो गायक हुन् । उनलाई त्यहाँको नेपाली समुदायको पहलमा बोलाइएको थियो ।

एसियाका लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने डेइजिङ फेस्टिभल आसामको सरकारी निकायबाट आयोजना भएको कार्यक्रम हो । कार्यक्रममा बलिउडबाट विशाल शेखार, नीति मोहन, मिका सिंहले प्रस्तुति दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer