२०८३ बैशाख १७ बिहीबार
Jhapa Today
Adv top

कचनकवलमा विद्यार्थी बोकेको बस दुर्घटना


बिर्तामोड, बैशाख १७ । झापाको कचनकवल रहेको एक विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना आज बिहान भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनबवल–३ दल्कीमा स्कुल बस दुर्घटना भएको हो । विद्यापानी माध्यमिक विद्यालयको सो बस घरबाट सडकमा निस्किएको मोटरसाइकलसँग जुधेको थियो ।

आज बिहान करिब ९ः२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ४४८२ नम्बरको बस र प्र–१–०१–०१३ प ३४०३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बस अनियन्त्रित भई पल्टिएको थियो ।

बसमा करिब १८ जना विद्यार्थी चढेका थिए । घाइते हुने विद्यार्थीहरूमा कचनकवल ३ का अभिषेक राजवंशी, अर्जुन राजवंशी, धर्मेन्द्र राजवंशी, खुश्बु श्रेष्ठ, करण राजवंशी, प्रतिक्षा राजवंशी, बरटिका राजवंशी, सुमन राजवंशी, सिर्जना राजवंशी, दिपेन राजवंशी रहेका छन् ।

घाइते विद्यार्थीको उमेर ४ वर्षदेखि १३ वर्षसम्म रहेको छ । अधिकांश विद्यार्थीलाई सामान्य चोटपटक लागेको छ । उनीहरूलाई उपचारका लागि मनमोहन अस्पताल बिर्तामोड ल्याइएको छ । दुईजना विद्यार्थीलाई भने अभिभावक आफैँले उपचार गर्न अन्यत्र लगेको बुझिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कचनकवल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस चालक भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन प्रहरी चौकी पथरियाले नियन्त्रणमा लिएको छ ।

Adv footer