
बिर्तामोड, बैशाख १७ । झापाको अर्जुनधारा नगरपालिकाले पनि दमकल सञ्चालनमा ल्याउने भएको छ । दमकल आज नगरपालिका परिसरमा आइपुगेको छ । इलामको सूर्योदय नगरपालिकाले एक थान दमकल अर्जुनधारा नगरपालिकालाई प्रदान गरेको हो ।

आज एक कार्यक्रमबीच सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली तथा प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेलाई दमकलको चाबी हस्तान्तरण गरे ।

दमकल हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख बरालले नगरमा दुई वटा दमकल रहेकाले विपद् व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यले अर्जुनधारा नगरपालिकालाई सहयोगस्वरूप प्रदान गरिएको बताए ।

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख तामाङले अर्जुनधारामा दमकल अत्यन्त आवश्यक रहेको बताए । उनले दमकल उपलब्ध गराएकोमा सूर्योदय नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै प्राप्त दमकलले अर्जुनधारासहित आसपासका क्षेत्रमा हुने विपद् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले अर्जुनधारामा झापाका चारवटा पालिकाका लागि विपद् केन्द्र निर्माणसमेत अन्तिम चरणमा रहेको उल्लेख गरे । केन्द्र सञ्चालनमा आएपछि त्यहाँबाट थुप्रै विपद् निवारण उपकरण सञ्चालनमा आउने तामाङले बताए ।






