२०८३ बैशाख १९ शनिबार
Jhapa Today
Adv top

मेची राजमार्ग बैशाख अन्तिम साता बन्द हुने


बिर्तामोड, बैशाख १७ । पूर्वी पहाडलाई झापा हुँदै तराई जोड्ने मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पुल मर्मत र पहिरो नियन्त्रणको काम अगाडि बढाउन एक सातासम्म दिनभर बन्द गरिने भएको छ ।

सडक डिभिजन इलाम र जिल्ला प्रशासन कार्यालय इलामले सार्वजनिक सूचना जारी गर्दै बैशाख २३ देखि ३० गतेसम्म बिहान १० देखि बेलुका ५ बजेसम्म सडक बन्द हुने जनाएका हुन् ।

प्रशासनका अनुसार गत असोज महिनामा पहिरोका कारण क्षतिग्रस्त राजदुवालीस्थित पुरानो स्टिल ट्रस पुल मर्मतसँगै त्यस क्षेत्रको पहिरो नियन्त्रण र सडकमाथि रहेका कडा चट्टान काट्न एक साता सडक बन्द गर्न लागिएको हो ।

सडक मर्मतका क्रममा हुनसक्ने सम्भावित जोखिम कम गर्न राजमार्ग आंशिक रूपमा बन्द गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

सडक डिभिजन इलामको अनुरोध तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सो अवधिमा राजदुवाली खण्डमा सवारी आवागमन रोकिने भएको हो ।

प्रशासनले बन्द अवधिमा मेची कोरिडोर (गोलाखर्क–बेलासे) वा सिमलगोलाई–तिल्केनी सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरेको छ ।

योसँगै बाघखोर खण्डबाट हाँसपोखरी–हापेनचोक सडक प्रयोग गरेर साना सवारी ओहोरदोहोर गर्न सक्ने जनाइएको छ ।

निर्माण कार्य सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि आवश्यक भएकाले यात्रु तथा सवारी चालकलाई असहज रुपमा नलिन प्रशासनले अनुरोध गरेको छ ।

Adv footer