बिर्तामोड, फागुन २५ । ओपनर आसिफ शेखको सानदार शतकमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई २९८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भयो । नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक उच्च योगफल हो ।
नेपालको ओडिआईमा उच्च योगफल यसअघि २८७ रन थियो । नामिबियाविरुद्ध दुई साताअघि नेपालले २८६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा २८७ रन बनाएको थियो ।
नेपालले ओडिआईमा यसअघि पहिला ब्याटिङ गर्दा टियु मैदानमै गत वर्ष पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा २७८ रन बनाएको थियो ।
ओपनर आसिफ शेखले ११० बलमा १२ चौका र २ छक्कासहित ११० रनको सानदार शतकीय इनिङ खेले । आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो । आसिफले १०१ बलमा १० चौका र २ छक्कासहित शतक पूरा गरेका थिए ।
आसिफ नेपालबाट ओडिआईमा शतक हान्ने पाँचौँ खेलाडी हुन् । पारस खड्का, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलपछि पाँचौँ खेलाडी बनेका हुन् ।
आसिफ ३८ औँ ओभरको चौथो बलमा सेमो कमियाको बलमा मिडअफबाट राइली हेकुरेबाट क्याच आउट भए । शतक बनाउनुअघि आसिफले दुई महत्वपूर्ण जीवनदान पाएका थिए ।
तेस्रो ओभरको चौथो बलमै आसिफले व्यक्तिगत पाँच रनमा जीवनदान पाएका थिए । चोभार एन्डबाट आएका तीव्र गतिका बलर सेमो कमियाको बलमा एज लागे पनि फस्ट स्लिपमा सेसे बाउले क्याच ड्रप गर्न पुगेपछि आसिफले सुरुवातमै जीवनदान पाएका थिए ।
आसिफले नवौँ ओभरको पाँचौँ बलमा पुनः व्यक्तिगत २२ रनमा जीवनदान पाए । पपुवा न्युगिनीका फिल्डरले पुनः क्याच छाड्न पुगेका थिए । त्यस्तै, आसिफले ओडिआई करिअरको एक हजार रन पनि पूरा गरेका छन् । उनी रोहितपछि ओडिआईमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी हुन् ।
ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौकासहित ४५ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १८.४ ओभरमा ११० रनको शतकीय साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए ।
हेकुरेकै बलमा ठुलो सट खेलेका कुशल मल्ल दुई रनमा क्याच आउट भए । ज्ञानेन्द्र मल्ल पनि हेकुरेको बलमा असद भालाबाट ११ रनमा क्याच आउट भए ।
चौथो विकेटका लागि रोहित पौडेल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । रोहित ठुलो सट खेल्ने धुनमा ३९ बलमा २ चौका र १ छक्कासहित ३० रनमा क्याच आउट भए ।
दिपेन्द्रसिंह ऐरी ७ रनमा रन आउट भए । सन्दीप लामिछाने ७ रनमा आउट भए । आरिफ शेख १५ रनमा आउट भए । भीम सार्की ३८ बलमा ४ चौकासहित ४४ रनमा आउट भए ।
कमियाको बलमा अन्तिम ओभरको पहिलो बलमा मिडअफमा भीम सार्की भालाबाट क्याच आउट भएपछि पहिलोपटक तीन सय रन पुर्याउन तीन रनले चुकेको थियो ।
पपुवा न्युगिनीका राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । सेमो कमियाले ९.१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए ।– हाम्रो खेलकुदबाट