२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सन् २०२६ को फिफा विश्वकप नयाँ ढाँचामा खेलाइने


बिर्तामोड, चैत २ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सन् २०२६ को फिफा विश्वकप नयाँ ढाँचामा आयोजना हुने बताएको छ । अफ्रिकी राष्ट्र रुवान्डामा भइरहेको फिफा काउन्सिलको कंग्रेसले नयाँ ढाँचालाई अनुमोदन गरेको हो ।

विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट ४८ पुगेसँगै फिफाले सन् २०२६ कै विश्वकपबाट नै नयाँ ढाँचामा आयोजना हुने बताएको छ । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

नयाँ ढाँचाअनुसार सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली हुनेछन् । हरेक समूहका शीर्ष दुई टोलीसँगै तेस्रो हुने उत्कृष्ट ८ टोलीले अन्तिमा ३२ मा स्थान बनाउनेछ । यस्तो अवस्थामा एक राष्ट्रले कम्तिमा पनि ३ खेल खेल्न पाउनेछ ।

यसअघि फिफाले सहभागी टोलीलाई १३ समूहमा विभाजन गरी शीर्ष दुई टोलीलाई नकआउट चरणमा लैजाने योजना बनाएको थियो । नयाँ ढाँचासँगै अब विश्वकपमा खेल संख्या ८० बाट बढेर १०४ पुगेको छ । विश्वकप तीन राष्ट्रको १६ सहरमा हुनेछ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले डिसेम्बरमा कतारमा भएको विश्वकपमा समूह चरणका खेलमा नै रोमाञ्चक प्रतिस्पर्धा भएपछि ढाँचा परिवर्तन गर्नेबारे विचार गरिरहेको बताएका थिए ।

चार टोलीको समूह र शीर्ष दुई टोली नकआउट चरणमा जाने ढाँचा सन् १९९८ को विश्वकपपछि प्रयोग गरिएको हो । त्यसबेला सहभागी टोली बढेर ३२ पुगेको थियो । नयाँ राउन्ड–अफ–३२ को अर्थ एक टोलीले विश्वकप जित्न आठ खेल खेल्नुपर्नेछ ।

त्यस्तै, फिफाले सन् २०२५ देखि २०३० सम्मको पुरुषको अन्तर्राष्ट्रिय क्यालेन्डर पनि अनुमोदन गरेको छ । जसअनुसार सन् २०२६ को विश्वकपको फाइनल १९ जुलाई २०२६ मा हुनेछ । क्लबहरुले विश्वकपका लागि २५ मे २०२६ भित्र रिलिज गर्नुपर्नेछ । जुनबेला क्लब फुटबल सकिनेछ ।

महिला अन्तर्राष्ट्रिय क्यालेन्डरमा हरेक वर्ष ६ विन्डो हुनेछ । जसमा महिला ओलम्पिक फुटबल पनि समावेश छ । महिला ओलम्पिक २५ जुलाईदेखि १० अगस्टसम्म फ्रान्सको पेरिसमा हुँदैछ । त्यस्तै, फिफाले सन् २०२५ देखि ३२ टोलीबीच हरेक चार वर्षमा हुने फिफा क्लब विश्वकपलाई पनि अनुमोदन गरेको छ ।

अहिले वार्षिक रुपमा भइरहेको फिफा क्लब विश्वकप २०२३ पछि नहुने भएकाले फिफाले त्यसलाई च्याम्पियन्स लिग विजेता र इन्टर कन्टिनेन्टल प्ले अफविजेताबीच खेलाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer