२०८३ बैशाख १३ आइतबार
Jhapa Today
Adv top

पर्यटक लोभ्याउँदै इलामको गुफा पाताल


गुफा पातालको समथर डाँडाबाट सूर्यास्त कैद गर्दै पर्यटक ।

बिर्तामोड, बैशाख १३ । नयाँ वर्ष मनाउन र विद्यालय विदाको सदुपयोग गर्न इलामको गुफा पाताल उपयुक्त गन्तव्य हुनसक्छ । नेपालीहरु खासै नपुग्ने इलामको सूर्योदय–४ मा रहेको गुफा पातालमा पाँचवटा होमस्टे रहेका छन् ।

गुफा पातालबाट देखिने सूर्योदय हेर्दै पर्यटक ।

एसइइ सकिएर फुर्सदिला भएपछि बुवाआमासँगै घुम्न जाने योजनामा रहेका विद्यार्थी र छुट्टी मनाउन नयाँ गन्तव्यको खोजीमा रहेका नेपालीका लागि इलामको सीमावर्ती गाउँ गुफा पाताल मनमोहक गन्तव्य हुनसक्छ ।

गुफा पाताल भारतीय गाउँ छब्बिसेसँगै जोडिएको छ । भारतको मिरिकनजिकै रहेकाले त्यहाँ पुग्ने अधिकांश भारतीय पर्यटक गुफा पाताल आउने गरेका छन् । अहिले एन्जेलिया फूल ढकमक्क फुलेकाले सबैको मन लोभ्याउनेछ ।

दार्जिलिङ, मिरिक घुम्न आउने भारतीय र बंगलादेशी पर्यटकहरु एक दिनका लागि भए पनि गुफा पाताल पुग्ने गरेका छन् । गुफा पातालको छेवैमा मेची नदीको उद्गमस्थल पनि देख्न सकिन्छ ।

गुफा पातालबाट देखिएको कञ्चनजंघा हिमालको दृश्य ।

त्यस्तै, यहाँबाट कञ्चनजंघा हिमाल, सूर्योदय तथा सूर्यास्त, विभिन्न जीवजन्तु, वनस्पति र पहाडी सुन्दरताको दृश्यावलोकन गर्न सकिने भएकै कारण पर्यटकहरुको लागि आकर्षक हुन थालेको स्थानीय माउन्ट भ्यु होमस्टेका सञ्चालक रविन प्रधानले जानकारी दिए ।

गुफा पातालबाट राति तथा बिहान, दिउँसो मौसम खुलेको बेला मिरिक, दार्जिलिङ, खर्साङ, इलाम तथा झापालाई देख्न पाउँदा रोमाञ्चक अनुभव हुन्छ ।

गुफा पातालको समथर डाँडामा मज्जा लिँदै पर्यटक ।

गुफा पातालको समथर डाँडोमा बसेर चिसो हावा र हुस्सुसँगै लुकामारी खेल्दै रमाइलो गर्ने भारतीय समूहको घुइँचो नै हुने गरेको छ ।

सरकारको उपेक्षा
सूर्योदय वडा नम्बर ४ मै श्रीअन्तु पनि पर्ने भएकाले सरकारी बजेटबाट गुफा पाताल निक्कै टाढा छ । २०६१ सालमै समिति दर्ता गरेर सामुहिक रुपमा जग्गा किनेर संरक्षण गरिए पनि राज्यबाट गुफा पाताल उपेक्षित छ । गुफा पातालमा होमस्टे सञ्चालन गर्ने सबै स्थानीयको स्वर एउटै छ, ‘यो ठाउँलाई सरकारले हेरेन ।’

गुफा पाताल जाने बाटोमा पर्ने तीन ब्लकको मेची बजार ।

स्थानीय बुद्धिलाल तामाङले दान दिएको एक रोपनी जग्गामा स्थानीयले रकम संकलन गरेर सात रोपनी बनाएर हाल घेराबारा गर्दै भ्यु टावर बनाएका छन् । तर, भ्यु टावर पनि अपूर्ण रहेको स्थानीय होमस्टे सञ्चालक मदन गुरुङले बताए ।

पशुपतिनगरबाट मिरिक जाने भारतीय सडक र सीमावर्ती गुफा पाताल गाउँ ।

छिरुवाबाट गुफा पातालसम्म पुग्ने सडक हालै निर्माण भएको छ । भारतीय पर्यटकका लागि उत्तम गन्तव्य भए पनि नेपाली पर्यटक भने सडक बनेपछि गत वर्षदेखि आउन थालेका छन् ।

श्रीअन्तु नजिकैको छिरुवाबाट ६ किलोमिटरको उकालोमा रहेको गुफा पातालसम्म पुग्न पक्की सडक बनेकाले श्रीअन्तुभन्दा उत्कृष्ट र सुन्दर गन्तव्य हुनसक्ने नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्स कोसीका महासचिव नविन खरेलले बताउँछन् ।

Adv footer