२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा


बिर्तामोड, चैत २ । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआइ सिरिजमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा हराउँदै सोझै विश्वकप छनोटमा पुगेको छ ।

योसँगै नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एक दिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाएको छ ।

जितको लागि ३११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २६९ रन बनाउँदा खेल रोकिएको थियो । ब्याड लाइटको कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले जितेको हो ।

नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा रहे । दिपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । गुलशनले ४२ औँ ओभरमा मोहम्मद वासिमलाई तीन चौका र एक छक्का हान्दै कुल २० रन जोडेपछि खेलले नयाँ मोड लिएको थियो ।

नेपालका भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । भीम तीव्र गतिका बलर जुनैद सिद्दिकको ३१ औँ ओभरको अन्तिम बलमा एलबीडब्ल्यु आउट भए ।

पाँचौँ विकेटका लागि भीम र आरिफले ८३ रनको साझेदारी गरेका थिए । कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए । चोभार एन्डतर्फ आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए । वासिमले मिडअनमा उत्कृष्ट क्याच लिएका थिए ।

कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा क्याच आउट भए । कुशल तीव्र गतिका बलर जुनैद सिद्दिकको १७ औँ ओभरको तेस्रो बलमा एज लागेर विकेटकिपर अश्वन्त वल्थापाबाट सहज क्याच आउट भए ।
कुशलको यो ओडिआइ करिअरको पाँचौँ अर्धशतक हो । भीम सार्कीसँग कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा क्याच आउट भए । आरिफ जहुर खानको ४० औँ ओभरको पहिलो बलमा वृत्य अरविन्दबाट लङअनमा क्याच आउट भएका थिए । युएईका जुनैद सिद्दिकले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो । ओडिआइमा नेपालविरुद्ध विपक्षी टोलीले बनाएको यो हालसम्मकै उच्च योगफल हो ।

यसअघि २०२२ मा पपुवा न्युगिनीले नेपालविरुद्ध टियु मैदानमै ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो ।

युएईका आसिफ खानले ४२ बलमा ४ चौका र ११ छक्कासहित १०१ रनको विष्फोटक अविजित शतकीय इनिङ खेले । आसिफ खानले ४१ बलमा शतक पूरा गरेका थिए । वृत्य अरविन्द १३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए ।

वृत्य सोमपाल कामीको अन्तिम बलमा वृत्य काउकर्नरमा दिपेन्द्रसिंह ऐरीबाट क्याच भएपछि शतक बनाउन चुकेका थिए । छैटौं विकेटका लागि वृत्य र आसिफले १३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।

४४ ओभरमा युएई २०८-५ को अवस्थामा थियो । अन्तिम ३६ बलमा १०२ रनको विष्फोटक साझेदारी गरे । स्पिनर सन्दीप लामिछानेले १७ औँ ओभरको दोस्रो बलमा वासिमलाई ६३ रनमा एलबिडब्ल्यु आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए । वासिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि कप्तान मोहम्मद वासिम र वृत्यले ७९ रनको साझेदारी गरेका थिए । २३ औँ ओभरको अन्तिम बलमा सिपी रिजवान आफ्नै गल्तीको कारण ७ रनमा रन आउट भए ।

दिपेन्द्रको २७ औँ ओभरको पहिलो बलमा ठुलो सट खेलेका आयन खान चोभार एन्डको लङअनमा गुलशन झाबाट क्याच आउट भए । दिपेन्द्रसिंह ऐरीले रोहन मुस्तफालाई २० रनमा एलबिडब्ल्यु आउट गरे । मुस्तफाले ३२ बलमा ३ चौका प्रहार गरे ।

नेपालका स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २७ रन खर्चेर १ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले ८ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ८० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ७४ रन खर्चेर १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer