२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कीर्तिपुरको कीर्ति जोगाउन राज्यले क्रिकेटमा लगानी गर


-प्रमोद खरेल

बिर्तामोड, चैत ४ । कीर्तिपुरमा नेपाली टिमले कीर्ति फैलाउँदै गर्दा नेपाली खेल इतिहासमा एउटा सुनौलौ दिन आएको छ । अब सिनियर टिमले टेस्ट मान्यता राष्ट्रसँग विश्वकप छनोट एवम यु १९ ले विश्वकप नै खेल्दैछ । साथै, घरेलु मैदानमा बैशाखमै एसिया कप छनोट ।

कीर्तिपुरमा दर्शकको क्रेज र मानव सागर देखेर दुनियाँ चकित छ । सामाजिक सञ्जाल बधाई र खुसीले रङ्गिएको छ । टोलीले जिम्बावेको टिकट काटिसकेको छ ।

तर, पछिल्लो समय नेपाली टिम ठुलो उतार–चढाव भोग्दै यहाँसम्म आइपुगेको छ । कप्तान ज्ञानेन्द्र मल्लसहित केही खेलाडीमाथिको कारबाही, सन्दीप लामीछानेको निलम्बन र पुनरागमन, अनेक उल्झनबीच क्रिकेट अघि बढेको हो । ग्लोबल छनोटसम्म आइपुग्दा टिममा ५ प्रशिक्षक र ४ कप्तान परिवर्तन भए ।

अन्तिम १२ खेलअघि टिम पुछारबाट दोस्रो र दयनीय अवस्थामा थियो । तर, कोच मोन्टी देशाइको आगमनसँगै टिमको रुप यसरी फेरियो कि मानौँ हामीलाई हामीदेखि नै घरिघरि विश्वास लागिरहेको छैन । १२ मा ११ जित त्यो पनि शानदार शैलीमा ।

अनि अब के त ? अब कहाँ छ राज्यको जिम्मेवारी ? एउटा कोच परिवर्तनले मात्र पनि नेपाली खेलाडीको प्रतिभा यसरी उजागर हुन सक्छ भने राज्यको भूमिका के हो ?

सम्माननीय प्रधानमन्त्री, नेता, कलाकार लगायतको उपस्थितिले टिमलाई हौसला दिन्छ होला । क्रिकेटमा पागल भइदिने दर्शकले हिम्मत र साहस दिए होलान् । अब राज्यले के गर्छ त ? २÷३ महिनामै टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्दै गर्दा अबको तयारी, प्रशिक्षण लगानीको लागि राज्य कति तयार छ ?

अहिलेसम्म टिममा स्थायी रुपमा बलिङ कोच, फिल्डिङ कोच राख्न सकिएको छैन । कीर्तिपुरको सानो मैदानमा प्रशिक्षण गरेकै भरमा विश्वकपका ठुला मैदानमा ठुला टिमसँग भिड्न सकिन्छ ? खेलाडीले ब्याट किन्न नसकेको समाचार आइरहँदा टिमलाई आवश्यक सामग्री, प्रशिक्षण गराउने उपकरण, विभिन्न उत्कृष्ट टिमसँग प्रतिस्पर्धा, बलियो घरेलु क्रिकेट संरचना, खेलाडीलाई निर्धक्क भएर खेल्ने वातावरण राज्यले बनाउनै पर्दछ । हैन भने केन्यालाई हेरे हुन्छ, विश्वकपको सेमिफÞाइनल खेलेको टिम आज कहाँ छ ।

भोको पेट र अभावबीच खेलाडीको जुनुनले मात्र धानेको क्रिकेट यात्रा स्थायी हुन सक्दैन । प्रशिक्षकको भनाइ सापटी लिने हो भने, नेपाली खेलाडीको क्षमता अदभूत छ र नेपाल पूर्ण सदस्य हुन योग्य छ । राज्य अब ढिला नगर, सारा नेपालीलाई एक ढिक्का बनाउने र चन्द्र सूर्य विश्वमा लहराउने यो सत्कर्ममा नचुक । आग्रह ।

(गायक खरेलले खेलाडीलाई प्रोत्साहन गर्दै सरकारको कर्तव्यप्रति ध्यानाकर्षण गराएको लेख उनको फेसबुकबाट सम्पादन गरी सारिएको हो । -सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer