२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारीको पुरानो शाख फर्काउन ‘प्रथम मेची महोत्सव’ हुने


विनिशा शर्मा

मेचीनगर, चैत ४ । झापाको धुलाबारीमा मेची चेम्बर अफ कमर्सको आयोजनामा ‘प्रथम मेची महोत्सव २०७९’ हुने भएको छ ।

यही चैत ६ गतेदेखि २७ गतेसम्म धुलाबारी कोलेनीमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।

आज संस्थाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिइएको हो । महोत्सवको सहआयोजकमा स्थानीय रोलिङ क्लब रहेको छ ।

महोत्सवका संयोजक रविनकुमार बस्नेतका अनुसार कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवका लागि ७५ लाख रुपैयाँ खर्च अनुमान गरिएको संस्थाका महासचिव प्रकाश खड्काले जानकारी दिए ।

पर्यटन प्रबर्द्धनको माध्यमबाट मेचीनगरको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्ने महोत्सवले लक्ष्य लिएको महासचिव खड्काले बताए ।

महोत्सवको उद्घाटन कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । त्यस्तै, प्रत्येक दिन राष्ट्रियस्तरका कलाकारको विशेष सांगीतिक प्रस्तुति रहने कमर्सकी अध्यक्ष रुक्मिणा आचार्यले जानकारी दिइन् ।

खड्काका अनुसार महोत्सवको अवसर पारेर मेचीनगरमा ठुला उद्योगहरुको सम्भावनाबारे सरोकारवालाहरुबीच बहस गरिनेछ ।

त्यस्तै, मेचीनगरमा कृषि, पर्यटनको सम्भावनाबारे पनि बृहत छलफल गरिने महोत्सवले कार्यतालिका बनाएको छ ।

महोत्सवमा कराते, तेक्वान्दो तथा विभिन्न मनोञ्जनात्मक खेलहरुको प्रदर्शन समेत गरिने संयोजक बस्नेतले बताए ।

धुलाबारीको पुरानो शाखलाई फर्काउन महोत्सवले टेवा पुर्याउने आशा गरिएको बस्नेतको भनाइ छ । त्यस्तै, लागुपदार्थ प्रयोगकर्ता युवाहरुलाई निरुत्साहित गर्दै खेलकुदमा प्रोत्साहन गर्न रोलिङ क्लबलाई सहयोग गर्ने पनि लक्ष्य राखिएको छ ।

महोत्सवअन्तर्गत साँझमा हुने कलाकारको प्रस्तुति हेर्न एक सय रुपैयाँ टिकट राखिएको सहआयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

महोत्सवमा परिचयपत्रसहित आउने विद्यार्थीलाई प्रवेश निःशुल्क गरिएको छ । ज्येष्ठ नागरिकलाई भने ५० प्रतिशत छुट गरिएको खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer