२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाली क्रिकेटको वरियतामा सुधार


बिर्तामोड, चैत ८ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा एक स्थान सुधार गरेको छ ।

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार १५ औँ स्थानमा उक्लिएको छ । नेपालले ओमानलाई पछि पार्दै एक स्थान उक्लिएको छ ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पछिल्ला १२ मध्ये ११ खेलमा जित निकालेपछि एक महिनामा नेपालले ओडिआई वरियतामा ठुलो छलाङ मारेको छ । पछिल्ला १२ खेलअघि नेपाल १९ औँ स्थानमा थियो । त्यसपछि नेपाल १७ औँ, १६ औँ हुँदै १५ औँ स्थानमा उक्लिएको छ ।

नेपालभन्दा पछि ओमान १६ औँ, नामिबिया १७ औँ, अमेरिका १८ औँ, युएई १९ औँ र पपुवा न्युगिनी २० औँ स्थानमा छन् । नेपालभन्दा अघि नेदरल्यान्ड्स १४ औँ, जिम्बावे १३ औँ र स्कटल्यान्ड १२ औँ स्थानमा छ ।

भारत शीर्ष, अस्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छन् । त्यस्तै, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, बंगलादेश सातौँ, श्रीलंका आठौँ, वेस्टइन्डिज नवौँ, अफगानिस्तान दसौँ र आयरल्यान्ड ११ औँ स्थानमा छन् । अफगानिस्तान एक स्थान घट्दा वेस्टइन्डिजले एक स्थान सुधार गरेको हो । अन्य टोली भने यथावत थियो ।

टि २० आई वरियतामा भने नेपाल १६ औँ स्थानमा यथावत छ । आइसिसीले खेलाडीतर्फ भने नयाँ वरियता जारी गरेको छैन । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत अन्तिम १२ खेल मध्ये ११ खेल जितेको थियो ।

नेपाल ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रह्यो । नामिबिया ३६ खेलमा १९ जित र १६ मा हारसहित ३९ अंकका साथ चौथो स्थानमा रह्यो । आइसिसी विश्वकप लिग–२ बाट स्कटल्यान्ड च्याम्पियन, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका थिए ।

जिम्बावेमा आगमी जुन जुलाईमा हुने छनोटमा कुल १० टोली हुन्छन् । विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरी कुल १० टोली हुनेछन् ।

जिम्बावेमा हुने छनोटमा कुल १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहबाट शीर्ष तीनतीन टोली सुपर सिक्समा स्थान बनाउँछन् । सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली विश्वकपमा पुग्नेछन् । शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer