२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा हाफ म्याराथन चैत २१ मा हुने


बिर्तामोड, चैत ११ । नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा पारेर हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

संस्थाको स्थापना दिवस यही चैत २१ गते मुल कार्यालयमा २१ दशमलव ०९ किलोमिटर दूरीको खुला हाफ म्याराथन हुन लागेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता आयोजना गरेको हो ।

खुला हाफ म्याराथन प्रतियोगितामा देशभरिका खेलाडीले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ । आर्थिक, शैक्षिक, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको संयोजक प्रशान्त भण्डारीले जानकारी दिए ।

संस्थाको मुल कार्यालयबाट सुरु भएको प्रतियोगिता चारपानेचोक–प्रभुचोक–सांगवेद स्कुल–ओमचोक–कुशलचोक–अर्जुनधाराधाम–वरपीपलचोक–मिलडाँडा–प्रगतिटोल–भाङबारी–तामाङचोक–रातेखाल–बिरिङ खोलाको कज्वे–पानीकल–लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिनेछ ।

प्रतियोगितामा महिला र पुरुषको अलगअलग विधा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रोलाई नगद ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार रुपैयाँ प्रदान गरिने संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।

त्यस्तै, चौथोदेखि दशौँसम्म हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।

यसैबीच, स्थापना दिवसको अवसरमा संस्थाको स्थापनाकालदेखि हालसम्म भएका प्रगति तथा अन्य जानकारीमुलक सन्देश भएका फोटोहरुको प्रदर्शनी राखिएको छ ।

त्यस्तै, चैत २१ गते नै संस्थाले नगद डिपोजिट मेसिनको शुभारम्भ गर्ने संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले जानकारी दिए ।

त्यस्तै, ज्येष्ठ नागरिक स्वास्थ्य हेरचाह कार्यक्रमको शुभारम्भ पनि सोही दिन गरिनेछ ।

संस्थामा हाल ८० वटा सेवा केन्द्रमा एक लाख ६० हजार ६३४ जना शेयर सदस्यहरु छन् । संस्थाको शेयर पुँजी १ अर्ब ६४ करोड २३ लाख, जगेडा कोष १ अर्ब ११ करोड २१ लाख, अन्य कोष ४४ करोड ७१ लाख, बचत १० अर्ब ६६ करोड ७ लाख, लगानीमा रहिरहेको ऋण १२ अर्ब, भौतिक सम्पत्ती ५१ करोड ७० लाख र बाह्य ऋण १ अर्ब ५ करोड रहेको छ ।

२०७९ माघ मसान्तसम्मको संस्थाको वासलात १५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer