२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

विश्व चिया सम्मेलनमा नेपाली चिया स्टलमा अवलोकनकर्ताको घुइँचो


बिर्तामोड, चैत १५ । विश्व चिया सम्मेलन तथा मेला (वर्ल्ड टि कन्फ्रेन्स–एक्सपो) का सहभागीले नेपाली अर्ग्यानिक अर्थोडक्स चियाप्रति रुचि र चासो राखेका छन् ।

नेपाली चियाको स्वाद चाख्दै सहभागीले नेपाली चिया मन पराएको र विशेष चासो राखेको विश्व चिया सम्मेलनमा सहभागी चिया उद्योगी झापा बिर्तामोडका विनोद बस्नेतले झापा टुडेलाई इमेलमार्फत बताए ।

बस्नेत इलामको साखेजुङस्थित ग्रिन भ्याली चियाद्वारा उत्पादित सिमपानी चियाको प्रबर्द्धन गर्न विश्व चिया सम्मेलनमा सहभागी भएका हुन् । सामाजिक अभियन्ता बस्नेत सो उद्योगको सञ्चालक हुन् ।

हिजो मंगलबार र आज बुधबार भएको विश्व चिया सम्मेलन तथा मेलामा विश्वभरका एक लाखभन्दा बढी मानिसको सहभागिता रहेको थियो । बस्नेतका अनुसार नेपाली चियाका स्टलमा सहभागीको विशेष उपस्थिति थियो ।

अमेरिकाको लसभेगासस्थित सम्मेलन केन्द्रमा भएको चिया मेलामा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र विभिन्न चिया उद्योगका प्रतिनिधि सहभागी छन् ।

बोर्डको तर्फबाट कार्यकारी निर्देशक विष्णु भट्टराई र वाणिज्य मन्त्रालयका सचिव गोविन्द कार्की सहभागी छन् । बोर्डले नेपालमा उत्पादित अग्र्यानिक अर्थोडक्स चियाको प्रबर्द्धन गरेको छ ।

त्यसबाहेक सिमपानी, शेर्पा, हिमालयन सांग्रिला लगायतका ब्रान्डका चिया मेलामा प्रदर्शनसहित प्रबर्द्धन गरिएको बस्नेतले बताए ।

अमेरिकामा नेपालको हिमाली क्षेत्रका जटिबुटीको तेल र चियाको बजारीकरण गर्दै आएको अरोमालयले पनि नेपाली अर्ग्यानिक चिया प्रबर्द्धनमा टेवा पुर्याएको छ ।

अरोमालयका को–फाउन्डर प्रबुद्ध दाहालले नेपाली चियाप्रति अमेरिकासहित विश्वका धेरै मानिसको चासो रहेको झापा टुडेलाई बताए ।

नेपालमा सहकारी तथा साना किसानद्वारा उत्पादित अर्ग्यानिक चियाप्रति विश्वका मानिसको रुचि र चासो रहेको दाहालको भनाइ छ । नेपाली चियाको प्रबर्द्धन र बजारीकरण कम हुँदा धेरैलाई यसबारे थाहा नभएको र नेपाली चियाले उचित बजार पाउन नसकेको सम्मेलनमा सहभागीले बताए ।

सम्मेलनले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुग्ने विश्वास लिइएको अरोमालयकी सिइओ सन्ध्या दाहालले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer